३ लाख घुससहित वन अधिकृत पक्राउ


डोटी । तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको हो ।

अख्तियार टोलीले सहायक वन अधिकृत डिसीबाट रकम बरामद गरे पनि उक्त रकम घुसको रकम नभई आफ्नो निजी रकम भएको डिसीका साथमा रहेका जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “यो पैसा मेरो हो, सहायक वन अधिकृत डिसी जीलाई फसाउन कसैले आरोप लगाएको हो, म जहाँ गएर पनि भन्न सक्छु रकम मेरो हो ।” यद्धपि मल्लले कुन काम विशेष र के का लागि त्यो रकम बोकेका हुन त्यो भने खुलाएका छैनन् । मल्ल निर्माण व्यवसायी पनि हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले सहायक वन अधिकृत डिसी घुससहित पक्राउ परेको पुष्टि गर्नुभएको छ । उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रसाद तिवारीले सहायक वन अधिकृत डिसी यही साउन २२ गते कञ्चनपुरका लागि रमाना लिएर गएकाले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।