पारसको टी २० मा छलाङ



नेपाल समाचारपत्र, काठमाडौं ।
आईसीसी टी २० अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा नेपालका कप्तान पारस खड्काले छलाङ लगाएका छन् ।

बुधबार प्रकाशित ब्याटिङ वरियतामा पारसले २७ स्थानको छलाङ लगाएर ६६औं स्थान हासिल गरेका हुन् । पारसको ४ सय १७ अंक रहेको छ । उनले आफुलाई विश्वका चर्चित क्रिकेटर भारतका महेन्द्रसिंह धोनी (६७औं) र वेस्ट इन्डिजका क्रिस गेल (७३औं) भन्दा माथि स्थानमा राखेका छन् । सो सूचीको शीर्ष १ सय स्थानमा पारस एक्लो नेपाली क्रिकेटर परेका हुन् । सो सूचीको पहिलो स्थानमा पाकिस्तानका बाबर आजम रहेका छन् ।

पारसले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१४ मा डेब्यु गरेका थिए । बंगलादेशमा भएको टी २० विश्वकपअन्तर्गत् हङकङविरुद्धको डेब्यु खेलमा पारसले ४१ रन बनाएका थिए । यो खेल नेपालले ८० रनले जितेको थियो । उनले टी २० अन्तर्राष्ट्रियमा कूल २० खेल खेलेका छन् । ३ अर्धशतक प्रहार गरेका उनको टी २० अन्तर्राष्ट्रियमा व्यक्तिगत उच्चतम ८६ रन हो । उनले सो रन हाल मात्रै मलेसियाविरुद्ध बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्