पहिलो चरणका लागि ३१ खेलाडी छनोट



नेपाल समाचारपत्र, काठमाडौं ।
विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय टोलीमा ५ खेलाडी कटौती गरेर पहिलो चरणका लागि खेलाडी छनोट भएका छन् ।

योसँगै प्रारम्भिक छनोट चरणका लागि ३१ खेलाडीले विदेशी प्रशिक्षक योहान कोलिनसँग प्रशिक्षण लिने तय भयो । पहिलो चरणको छनोटमा स्थान बनाउन नसक्ने खेलाडीमा डिफेन्डर कमल श्रेष्ठ र अमित श्रेष्ठ, मिडफिल्डर नितिन थापा, सेसेहाङ आङदेम्बे र मिछेन तामाङ रहेका छन् ।

फ्यालिएका यी खेलाडीमा कमलबाहेक बाँकी खेलाडी यु २३ राष्ट्रिय टोलीमा समेटिएका छन् । एन्फाले जनाएअनुसार यी खेलाडीले आउँदो साग फुटबलका लागि अभ्यास गर्नेछन् । सागको टोलीको जिम्मा प्रशिक्षक बालगोपाल महर्जनले लिएका छन् ।

एन्फा मैदानमा प्रशिक्षण भइरहेकोमा तीन चर्चित खेलाडी अभ्यासमा छैनन् । योहानले ३१ सदस्यीय छनोट टोलीमा उनीहरुलाई सहभागि गराएका छन् । उनीहरु हुन् भरत खवास, विमल घर्तीमगर र रोहित चन्द हुन् । भरत सेनाको प्रशिक्षणका लागि थाइल्यान्डमा छन् । रोहित इन्डोनेसियाको घरेलु लिगमै व्यस्त छन् । त्यस्तै विमल माल्दिभ्समा फुटबल खेलिरहेका छन् ।

नेपालको विश्वकप दोस्रो चरणको छनोट यात्रा आगामी भदौ १९ गतेदेशि शुरु हुनेछ । सो छनोट चरण पार गर्न नेपाली खेलाडीहरु अहिले अभ्यासमै तल्लीन छन् । समूह बी मा रहेको नेपालले एसियन पावर अस्टे«लिया, कुवेत, जोर्डन र चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको पहिलो खेल कुवेतसँग भदौ १९ गते हुनेछ । नेपालले सो समयमा दशरथ रंगशाला उपलब्ध नभएको हुँदा यस होम खेललाई अवेको रुपमा कुवेतमा खेल्नेछ ।

पहिलो चरणका लागि छनोट भएका ३१ खेलाडीमा प्रायजसो पुरानै अनुहारको वर्चश्व रहेका छन् । जसमा किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ, विराज महर्जन, विमल घर्तीमगर, अन्जन विष्ट, भरत खवास, रोहित चन्द, विशाल राई, अनन्त तामाङ, विक्रम लामा, नवयुग श्रेष्ठ, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, दिनेश राजवंशी, बिमल पाण्डे, सुनील बल, हेमन गुरुङ, तेज तामाङ, अभिषेक रिजाल, देवेन्द्र तामाङ, रवि सिलवाल, रवि पासवान, त्रिदेव गुरुङ, सन्तोष तामाङ, विमल राना, सुभाष गुरुङ, अजीत भण्डारी, सुजल श्रेष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्