२९ शिर्षकमा तीन सय २९ मुद्दा दर्ता



अमृत अर्याल, स्याङ्जा ।
आर्थिक वर्ष २०७५/७६ मा जिल्ला प्रहरी कार्यालयमा विभिन्न २९ शिर्षकमा ३२९ वटा मुद्दा दर्ता भएका छन् । प्रहरी कार्यालयमा दर्ता भएको मुद्दामा झुण्डिएर आत्महत्या सबै भन्दा धेरै रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ४६ पुरुष र २३ महिला एक बालक र ५ बालिकाले आत्महत्या गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक गरेको छ ।

आफ्नो वार्षिक प्रगतिको बारेमा जानकारी दिने उदेश्यले पत्रकार भेटघाट गर्दै प्रहरी नायब उपरिक्षक नबिन कृष्ण भण्डारीले दर्ता भएका मुद्दामा नैतिकता बिरुद्धको कसुरमा ५३, भबितब्य ज्यानमा २८, फुटकर ज्यान २३, जबरजस्ती करणी २०, लागु औषध १८ रहेको बताउनुभयो । मुद्दामा आरोपी २६९ पुरुष, १७ महिला र विदेशी ६ पुरुष गरी २ सय ९२ जनालाई पक्राउ गरेको तथा ५६ पुरुष र ७ महिला गरी ६३ जना अझै फरार रहेको भण्डारीले बताउनुभयो ।

अदालतबाट दोसी ठहर गरी फरार मध्ये एक वर्षमा ७० जना र अनुसन्धानको क्रममा रहेका फरार २३ जनालाई पक्राउ गरेको भण्डारीले बताउनुभयो । प्रहरीले चलाएको समुदाय प्रहरी साझेदारी कार्यक्रमले शान्ति सुरक्षामा महत्वपूर्ण भुमिका खेलेको छ सूचना अधिकारी समेत रहेका भण्डारीले भन्नुभयो,“यो कार्यक्रमलाई अझै टोल—टोल देखि घर—घरमा पु¥याउनु आवश्यक छ ।”

फरार अभियुक्त र समाजमा अराजकता मच्चाउनेलाई पक्राउ गर्न यो कार्यक्रमले सहज भएको भण्डारीले बताउनुभयो । साझेदारी कार्यक्रम शुरु भएपश्चात ७६ हजार ६ सय ७६ गाजाका बोट नष्ट मात्रै गरिएन भण्डारीले भन्नुभयो, “सगँसगै अबैध रुपले उत्पादन हुदै आएको २१ हजार ३ सय ८८ लिटर घरेलु मदिरा नष्ट गरिएको छ ।” साझेदारी कार्यक्रम अन्र्तगतको बिद्यालय केन्द्रित कार्यक्रम बाट ६ हजार ३ सय २२ छात्र र ८ हजार १ सय ३३ छात्रा, ५ सय १७ अभिभावक र ९ सय ४७ शिक्षक शिक्षिका सगँ प्रहरी
पुगेको भण्डारीले बताउनुभयो ।

प्रहरी समुदाय केन्द्रित कार्यक्रम अन्तर्गत १० हजार ५० सगँ पुगेर सचेतना गर्ने काम भएको छ जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले भन्नुभयो,“प्रहरीले १८ बिद्यालयमा प्रहरीसगँ एक दिन कार्यक्रम, रक्तदान, बृक्षारोपण जस्ता कार्यहरु गरेको छ ।” जसले समुदायमा शान्ति सुरक्षा प्रति चासो र अवस्था बारे थाहा पाउन प्रहरीलाई सहज भएको प्रहरी प्रमुख लम्सालले बताउनुभयो । प्रहरीमा राम्रो काम गर्ने प्रनाउसहित ३८ जनालाई पुरस्कृत गरिएको छ भने खराव काम गर्ने ३२ जनालाई कारबाही गरिएको प्रहरी उपरिक्षक लम्सालले बताउनुभयो ।

प्रहरीले एक बर्षको अवधिमा राम्रा उपलब्धि हासिल गरेको हाम्रो बुझाई छ प्रहरी प्रमुख लम्सालले भन्नुभयो,“सधै प्रहरी नागरिकको हितमा जुटिरहनेछ ।” प्रहरीले सधै राम्रा मात्रै काम गर्छ भन्ने बुझाई हाम्रो छैन लम्सालले भन्नुभयो यसमा खबरदारी र सुझाव दिने काम पत्रकारले गर्नुपर्छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश शर्माले पत्रकार र प्रहरी बिचको सम्बन्ध सधै राम्रो रहनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्