११ काठेपुल विस्थापित, आरसिसि पुल निर्माण

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाको विभिन्न स्थानमा गरी यस वर्ष ११ वटा काठेपुल विस्थापन गरी आरसिसि तथा झोलुंगे पुलहरु निर्माण गरिएको छ । चालु आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाको काठे पुल विस्थापन कार्यक्रम अन्र्तगत ११ वटा काठे पुललाई विस्थापित गरी अरसिसि तथा झोलुंगे पुल निर्माण गरिएको नगर प्रमुख हंसराज भट्टले बताउनु भएको छ ।

नगरपालिकाको वडा नम्बर २, ५ र ६ का विभिन्न स्थानमा ११ वटा आरसिसि तथा झोलुंगेपुलहरु निर्माण गरिएको उहाले जानकारी दिनु भयो । वडा नम्बर २ मा बडालीगाउँ हुनखोला आरसिसि पुल तथा मल्ला सेला झोलुंगे पुल निर्माण गरिएको छ । यस्तै वडा नम्बर ५ को धौलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएको छ । यस वर्ष नगरपालिकाको वडा नम्बर ६ मा सबै भन्दा बढी पुलहरु निर्माण भएका छन् । वडा नम्बर ६ मा ६ वटा आसिसि तथा २ वटा झोलुंगे पुलहरु निर्माण गरिएको नगर प्रमुख भट्टले बताउनु भयो ।

वडा नम्बर ६ को जामिर खोला, मसिनी सौकी, घट्टेबगर, थागिलखोला इजर, र थागिलगैर खोलामा आरसिसि पुल निर्माण गरिएको छ, भने निङलाडी झोलुंगे पुल र छचरे ट्रसपुल निर्माण गरिएको उहाले बताउनु भयो । नगरपालिकाको काठे पुल विस्थापन गर्ने निति अन्तर्गत क्रमिक रुपमा नगरपालिका क्षेत्र भित्र रहेका सबै काठे पुलहरुलाई विस्थापित गरी आरसिसि तथा झोलुंगे पुल निर्माण गर्ने योजना रहेको नगर प्रमुख भट्टको भनाई छ ।

उक्त पुलहरु ३५ लाख ५ हजारमा निर्माण सम्पन्न भएको उहाले जानकारी दिनुभयो । काठे पुल विस्थापित गर्दै निर्माण गरिएका आरसिसि पुलहरुले स्थानियलाई आवत जावतमा सहजता भएको उहाको भनाई छ । नगरपालिकाले गत आर्र्थिक वर्ष २०७४÷०७५ मा १० वटा आरसिसि तथा झोलुंगे पुलहरु निर्माण गरेको थियो ।