प्रदेशलाई हराएर आर्मी फाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश–३ लाई हराएर त्रिभुवन आर्मी क्लब जारी प्रधानमन्त्री राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले प्रदेश–३ लाई १ सय १७ रनले पराजित गरेको हो। योसँगै फाइनलमा पुनः एकपटक विभागीय टोलीकै वर्चश्व रहने पनि पक्का भयो। आज हुने दोस्रो सेमिफाइनल खेलमा एपीएफ र पुलिसबीच भिडन्त हुनेछ।

आर्मीले पहिले ब्याटिङ गरेर ३ सय १० रनको विशाल लक्ष्य तेर्साएको थियो। तर प्रदेश–३ ले निर्धारित ५० ओभरसम्म खेले पनि ९ विकेटको क्षतिमा १ सय ९२ रनमै समेट्नुपरेको थियो। टोलीका लागि व्याट्सम्यान ईशान पाण्डेले ७९ रनको उल्लेखनीय प्रदर्शन गर्नुबाहेक अन्यले निराशजनक ब्याटिङ पस्के। उनी ४८ ओभरसम्म टिकेका थिए। ३ चौका र ४ छक्का प्रहार गरेका उनलाई करण केसीले क्याच आउट गराएका थिए।

प्रदेश–३ का ओपनर रित गौतम ५ रनमा रनआउट भए भने अर्का ओपनर रविन जोशी ८ रन बनाएर करणको बलमा पबेलियन फर्केका थिए। यसपछि कप्तान पारस क्रिज सम्हाल्न आएका थिए। तर उनी ३ चौकाको मद्दतमा १९ रन जोडेर आउट हुनु नै टोलीका लागि ठूलो झट्का भएको थियो।

यो विकेट लिएर शाहब आलमले आर्मीलाई जितको बाटोतिर डोर्याएका थिए। यसपछि नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि छिटै आउट हुनाले पनि नतिजा आर्मीतिर लगभग ढल्कन शुरू भएको थियो। सुसन भारीले ज्ञानेन्द्रलाई २६ रनमा आउट गरेका थिए। उनले २ चौका र १ छक्का प्रहार गरेका थिए। आर्मीका लागि साहव आलमले सर्र्वािधक ३ विकेट लिए। करण केसीले २, सुशन भारी, रोहितकुमार पौडेल र कुशल मल्लले समान १ विकेट हात पारे।

यसअघि आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ९ रनको विशाल योगफल बनाएकोे थियो। टोलीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ७५ रन जोडे। उनले सही समयमा लय समात्दै ४२ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए। छैटांै नम्बरमा ब्याटिङ गर्न आएका भण्डारी नटआउट रहे भने कुशल पनि नटआउट हुँदै २६ रन जोडेका थिए।

त्यस्तै ओपनर राजु रिजालले ४ चौका र २ छक्कासहित ५१ रनको योगदान दिए भने हरि चौहानले ३८ रन, राजेश पुलामीले २९ रन र रोहित पौडेलले ४३ रन बनाएका थिए। प्रदेश ३ का लागि जितेन्द्रसिंह ठकुरी र नन्दन यादवले समान २ विकेट लिए।