लेखापालविरुद्ध पाँच करोड बढिको भ्रष्टाचार अभियोगमा मुद्दा दायर

0
Shares

काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल सुरेश अधिकारीले रु पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले पदीय मर्यादाविपरीत कार्य गरी गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको अनुसन्धानबाट खुलेकाले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको जनाएको छ ।

आयोगका अनुसार लेखापाल अधिकारीको आयव्यय तथा सिर्जित सम्पत्ति उपर विश्लेषण गरी हेर्दा निजले तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाई, कर्जालगायतबाट जम्मा रु ८८ लाख ३४ हजार ८८५ आय आर्जन गरेको देखिन्छ ।

अधिकारीले आफू र आफ्ना आफन्तको नाममा खरीद गरी राखेको एवं लगानी गरेको चल÷अचल सम्पत्ति जग्गा खरीद, घर निर्माण, सवारी साधन खरीद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दातलगायतमा रु पाँच करोड ९८ लाख ६८ हजार ५०८ खर्च तथा लगानी गरेको पाइएको छ । त्यसमा रु पाँच करोड १० लाख ३३ हजार ६२३ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।

आयोगको अनुसन्धानमा सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएकाले वैध आयको तुलनामा स्रोत खुल्न नसकेको सम्पत्ति बढी रहेको पाइएको छ । आयोगले अधिकारीका श्रीमती र मामा नाताका बलराम शर्मासमेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिनुभयो ।

यस्तै आयोगले आजै समयमाई प्राथमिक विद्यालय ९हाल माध्यमिक विद्यालय० टिकुलीगढमा कार्यरत शिक्षक रामप्रसाद पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मुद्दा दायर गरेको छ ।
रासस

Skip This