काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा गम्भीर आपत्ति जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग लिँदै विपक्षी दलका नेता शेरबहादुर देउवाले मेरो सरकार भन्नु बेलायती महारानीको शैली भएको बताउनुभएको छ ।
सरकारले राष्ट्रपतिको संस्थालाई पटक पटक विवादमा तानेको भन्दै कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ । यो लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत होइन ।’
यस्तै देउवाले आफ्ना पालामा सुरु भएका कार्यक्रमहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो भनेर झुटो प्रचार गरेको पनि आरोप लागउनुभयो । यस्तै उहाँले छिमेकी देशहरुसँग रेल, सडक र हवाइमार्गबाट जोड्नुपर्ने तर, लहडमा नभइ प्राथमिकता र प्रतिफलका आधारमा आयोजना छनोट गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘चीन र भारत जोड्ने रेलमार्ग दुबै देशका लागि पनि महत्वपूर्ण आयोजना भएकाले यिनीहरुको निर्माण अनुदानमा मात्र हुनुपर्छ ।’
सांसद मिनेन्द्र रिजालले हिजो राजाले मेरो सरकार भनेर सम्बोधन गर्ने र अन्त्यमा पशुपतिनाथले कल्याण गुरुन् जयनेपाल भनेर टुंग्याउने गरेको सबैमा स्मरण गराउनुभयो ।
नीति तथा कार्यक्रममा के भनिन्छ हेर्न अरु देशमा जानु नपर्ने भन्दै उनले २०६४ ६५ को चुनावपछि बनेको सरकारले मेरो सरकार भन्न छाडेको हेर्न आग्रह पनि गर्नुभयो ।
सरकारले गणतन्त्रलाई जोगाउँछ कि जोगाउँदैन भन्ने आशंका जनताको मनमा रहेको भन्दै नेता रिजालले काममार्फत आश्वस्त पार्न सबैमा सुल्झाउनुभयो ।











प्रतिक्रिया