संविधानविरुद्ध काम गर्नेहरुप्रति कडा हुने गृहमन्त्री थापाकाे चेतावनी


कास्की ।
गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप कास्कीको पोखरामा शनिबारदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहबीच सम्पन्न भएको हो ।

उक्त अवसरमा गृहमन्त्री थापाले गोष्ठीलाई सम्बोधन गर्दै मुलुकमा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा विभिन्न कानुनको निर्माण गर्दै शान्ति भंग गर्ने र संविधान विरुद्ध काम गर्नेहरुप्रति कडा रुपले प्रस्तुत हुने नीति अवलम्बन गरिएको बताउनुभयो । सबै प्रकारका आपराधिक गतिविधिलाई निस्तेज पार्न सुरक्षा निकायहरुको सक्रियता अझै बढाउनु पर्नेमा जोड दिँदै गृहमन्त्री थापाले जुनसुकै परिस्थितिको सामना गर्न सुरुक्षाकर्मीहरु तयार रहन आवश्यक रहेको समेत बताउनुभयो ।

समारोहमा गृहसचिव प्रेमकुमार राईले सबै सुरक्षा निकायहरुले आपसी समन्वय गरी सफलतापूर्वक काम गर्नुपर्ने उल्लेख गर्दै कानुनविपरितका गतिविधि नियन्त्रण गर्न गोष्ठीको निष्कर्ष फलदायी हुने विचार व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले प्रदेशको शान्ति सुरक्षा सम्बन्धी मन्तव्य व्यक्त गर्दै अपराध नियन्त्रण लगायत शान्ति सुरक्षा कायम गर्ने काममा प्रदेशले प्रहरीलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण भएको थियो ।

गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा निमित्त प्रहरी महानिरीक्षकको कार्यभार समेत सम्हाल्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका अधिकारीहरु, नेपाली सेनाका प्रतिनिधि, गण्डकी प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, उक्त प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।