पश्चिम नेपालको सबैभन्दा माथिल्लो पर्वत अपिहिमाल



किरन धामी, दार्चुला
समुद्री सतहबाट ७ हजार १ सय ३२ मिटर उचाईमा रहेको अपीहिमाललाई पश्चिम नेपालको सबैभन्दा माथिल्लो पर्वतको रूपमा लिने गरिएको छ । यो हिमाल प्रदेश नम्बर ७ को दार्चुला जिल्लामा पर्दछ । ट्रेकिङ क्षेत्र एकदम टाढा छ र अचम्मको छ ।

अहिलेसम्म, धेरै थोरै पर्यटकहरूले मात्रै यो क्षेत्रमा भ्रमण गरेका छन् । यस बाटोको साथ प्रकृतिको वास्तविक जंगल अनुभव गर्न सकिन्छ । सुन्दर पर्वत परिदृश्य, सांस्कृतिक विविधता, नदीहरू र प्राचीन वनहरू यो क्षेत्रको मुख्य आकर्षण हुन् ।

प्राकृतिक सौन्दर्य, रहस्यमय संस्कृतिको अलावा, यो क्षेत्रमा विभिन्न किसिमका दृश्यको अवलोकन गर्न पाइन्छ ।
अपिहिमाल आरोहणका लागी यस वर्ष युरोपियन मुलुक चेक गणतन्त्रका आठ जना तथा दुई जना नेपाली सहित १० जनाको टोली आएको थियो । अपीहिमाल आरोहणमा आएको आरोहण टोली अपिहिमाल नपुगी फर्किएको छ ।

५ हजार ६ मिटरको उचाईमा पुगेपछि भौगोलिक जटिलताका कारण टोली फर्किएको बुझिएको छ । यसअघि २०५५÷५६ सालमा मात्रै विदेशी नागरिक अपिहिमाल आरोहणको लागि आउने गरेका थिए । ७ हजार १ सय ३२ मिटर उचाइमा रहेको अपिहिमाल दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्दछ । यसअघि अपिहिमालमा पहिलो पटक सन् १९६० मा आरोहण गरिएको अभिलेख छ ।

अपिनाम्पा संरक्षण क्षेत्रभित्र सात हजार १ सय ३२ मिटर उचाइको अपिहिमाल, ६ हजार ७ सय ५७ मिटर उचाइमा रहेका नाम्पा हिमाल, ६ हजार ८ सय ५० मिटर रहेको कापाचुली हिमाल, जेठबुहारी, ब्याँस हिमाल लगायतका उच्च हिमशृङ्खला रहेका छन् । हजारौँ पर्यटक घुम्न आउने सम्भावना बोकेका पर्यटकीय क्षेत्र प्रचार प्रसार, उपयुक्त मार्ग, आवश्यक भौतिक पुर्वाधार अभाव लगायतका कारण विदेशी पर्यटक पर्याप्त आउन नसकेको जानकार बताउँछन् ।

गत तीन वर्षको अवधिमा करीब १ सय विदेशी पर्यटकले अपिनाम्पा संरक्षण क्षेत्रमा प्रवेश गरेका छन् ।
यहाँ पर्यटकको मन लोभ्याउने थुप्रै जीवजन्तु, प्राकृतिक स्रोत साधनले भरिपुर्ण भए पनि यातायातको असुविधा, पर्यटकीय पदमार्गको अभाव, दक्ष गाइड र उपयुक्त बसोबासको व्यवस्था, पर्यटकीय क्षेत्रको प्रचारप्रसार अभाव लगायत कारणले पर्यटक अपि नाम्पा संरक्षण क्षेत्रमा पुग्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्