बामपन्थी सरकार असफल भैसक्योः महामन्त्री कोइराला



कृष्ण आचार्य, चितवन ।
नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले बामपन्थी नेतृत्वको सरकार असफल भैसकेको दाबी गरेका छन् । विपी चिन्तन प्रतिष्ठान नेपाल चितवनले आज (शनिवार) भरतपुरमा आयोजना गरेको अग्रजहरुको संक्षिप्त जिवनी बिमोचन तथा सम्मान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले सरकारका पछिल्ला गतिविधीले असफलता पुष्टी गरेको बताए । उनले बामपन्थीलाई भोट दिनेहरु पनि पछुताउन थालेको टिप्पणी गरे । “इतिहाँस, सिद्धान्त र कार्यकर्ताका कारण काग्रेसको भविष्य अझै उज्वल छ,महामन्त्री कोइरालाले भने’,अब गाँउ÷गाँउ पुगेर संगठन बिस्तार गर्नुपर्छ ।” काग्रेसलाई एकबद्ध बनाउनुको विकल्प नरहेको भन्दै उनले गुट–उपगुटमा विभाजन गरेर काँग्रेसको हित नहुने तर्क गरे ।

चितवनमा कार्यकर्ताको भावना लत्याउँदै हलो र हँसिया हथौडामा भोट हाल्न लगाउनु नै दुर्भाग्य भएको महामन्त्री कोइरालाको भनाई छ । “आफू पार्टी सभापती र प्रधानमन्त्री बन्न कार्यकर्ताको भावना लत्याउनु हुँदैन,उनले भने’,त्यसले दिर्घकालिन असर पर्न सक्छ ।” आफ्नो चिन्ता पार्टीलाई एकढिक्का बनाउने तर्फ केन्द्रित रहेको भन्दै महामन्त्री कोइरालाले काँग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा आजैदेखी लाग्नुपर्ने धारणा राखे ।

सोही कार्यक्रममा बोल्दै काँग्रेस नेता कुल बहादुर गुरुङले काँग्रेसले संगठन,सिद्धान्त र आदर्शलाई महत्व नदिएको गुनासो गरे । विपीको आदर्श बिर्सेका कारण काँग्रेस कमजोर बन्न पुगेको भन्दै उनले अवका दिनमा परिमार्जित र परिस्कृत हुनुपर्ने बताए । काँग्रेस सकिन्छ कि भन्ने चिन्ता हटाउँदै संगठन सुदृढिकरणमा लाग्न नेता कार्यकर्तालाई उनले आग्रह गरे ।

कार्यक्रममा बोल्ने नेताहरुले पार्टी पैसाको पछाडि लागेको भन्दै चिन्ता प्रकट गरेका थिए । सो अवसरमा १ सय १३ जना काँग्रेसका अग्रजहरुको जिवनी सहितको पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा पुर्वराज्यमन्त्री शेषनाथ अधिकारी,पुर्व जिल्ला सभापती कृष्णलाल सापकोटा,जिल्ला सभापति जितनारायण श्रेष्ठ लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्