तस्करीका सामानसहित कारोबारी धमाधम पक्राउ



भद्रपुर ।
पछिल्लो पटक नेपाल प्रहरीले तस्करीका सामानसहित कारोबारीलाइ धमाधम पक्राउ गर्न थालेको छ । तस्करी नियन्त्रणको लागि जिल्ला प्रहरीबाट साधा पोसाकमा खटिएका प्रहरीले सामान मात्र बरामद गर्ने तर मान्छे समाउन नसक्ने गुनासो आएपछि प्रहरीले मान्छेलाइ समेत पक्राउ गर्न थालेको हो ।

विभिन्न सवारी साधन प्रयोग गरी कारोबारीले निकासी पैठारी गर्ने गरेका छन् । लाखौ मूल्य बराबरका अबैध सामान बरामद गर्नसक्ने प्रहरीले सवारी साधन र संलग्न मानिस भने फेला नपरेको भन्दै बेवारिसे अवस्थामा वा प्रहरीलाइ देख्ने वित्तिकै भागेकोले सामान मात्र बरामद गर्न सफल भएको जनाउदै आएको थियो । यस्ता प्रकारका सूचना सार्वजानिक भएपछि देखिएको व्यापक गुनासालाइ प्रहरीले निस्तेज पार्न सामानसहित मानिस पक्राउ गर्न थालेको पाइएको छ । यसैक्रममा शनिबार विहान एउटा नीजि म्याजिक गाडीमा ल्याउदै गरेको लाखौँ मूल्य बरावरको सामग्रीसहित तीन जना कारोबारीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढी स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको मे१च २६८० नम्बरको म्याजिक गाडीमा प्रहरी टोलीले चेकजाँच गर्दा अबैध रुपमा भन्सार छली ल्याएको पर्दा कपडा ४१५ थान, तन्ना १५८ थान, सिरानी ३२२ थान, कुर्थी २० थान, जामा २० थान, भेष्ट २८ थान, सेन्डो ३३ थान, सटिङ्–सुटिङ्ग रोल २ थान र रजनि गन्धा ४३२ पिस गरी अन्दाजी ४ लाख बराबरको सामान बरामद गरिएको प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जनाए ।

तस्करीमा प्रयोग गरिएको नीजि गाडीको समेत ६० हजार अनुमानित मूल्य राखिएको प्रवक्ता बस्नेतको भनाइ छ । अबैध सामान सहित मेचीनगरपालिका–१५ का १९ वर्षिय गाडी चालक मोहन सुब्बा, सोही स्थानका ५१ वर्षिय मोहन कुमार घिमिरे र कचनकवल गाउँपालिका– २ का २५वर्षिय हेमन्त ढुङ्गाना समेतलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । बरामद सामग्री र गाडीसहित उनिहरुलाइ शनिबार मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उनको भनाइ छ । त्यसैगरी शनिबार विहान साढे ३ बजे मेची नगरपालिका– ६ प्लटिङ्गबाट प्रहरी गस्ती टोलीले भारतबाट नेपालतर्फ भन्सार छली अबैध रुपमा ल्याउदै गरेको मोवायलको ब्याक कभर १हजार पिस , राङपेष्ट २५ पिस ,गुल समेत गरी अनुमानित ६० हजार मूल्य बरावरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

आउदै गरेको चाडपर्वमा अलिक बढी तस्करी हुने गरेकोले सीमा क्षेत्रमा साधा पोसाकका प्रहरीले धमाधम सामानसहित मानिस पक्राउ गर्न थालेको जिल्लाका एसपी भिमप्रसाद ढकालले जनाए । अबैध चोरी निकासी तथा पैठारी गर्नेको सुची बनाएर झापाका सवै नाकाहरुमा व्यापक साधा पोसाकमा प्रहरी खटाइएकोले पछिल्लो पटक तस्करी नियन्त्रण हुदै आएको एसपी ढकालले जनाए । यता सीमा क्षेत्रको जिम्मा लिएर बसेको सशस्त्र प्रहरीले भने सामान बरामद गरेको पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्