जनप्रतिनिधिले काम गर्न नसकेको नगरबासीको गुनासो



नेपाल समाचारपत्र, काठमाडौं
स्थानीय तहको निर्वाचन भएको १ वर्ष बितिसक्दा पनि जनप्रतिनिधिले राम्रो काम गर्न नसकेको भन्दै शनिबार गोकर्णेश्वर नगरवासीहरुले आपत्ति जनाएका छन् ।

जय नेपाल सञ्चार गृहले आयोजना गरेको ‘स्थानीय निर्वाचनपश्चात पनि कर्मचारीकै मनोमानी’ बिषयक छलफल कार्यक्रममा सहभागीहरुले कर्मचारी र जनप्रतिनिधिबीच समन्वय नभएको, समयमै जनताका काम हुन नसकेको, विभिन्न बहानाबाजी गरेर सेवाग्राहीलाई अल्मल्याउने गरेको, विकास निर्माणमा ध्यान नदिएको जस्ता आरोप लगाएका छन् ।

सञ्चार गृहका अध्यक्ष राजु सुनारले नगरवासीको गुनासो दिनैपिच्छे बढ्दै गएकाले वास्तविकता बुझेर सम्वन्धित ठाउँसम्म ध्यानाकर्षण गराउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । ‘सिंहदरवारको अधिकार गाउँमा भनिएको छ तर जनताले झन् बढी दुःख र समस्या भोग्नुपरेको छ’, सुनारले भन्नुभयो– ‘एकले अर्कालाई दोष दिएर उम्कने परिपार्टी छ त्यसैले पनि वास्तविक पहिचान गर्न सबै नगरवासीलाई बोलाइएको हो ।’ जनप्रतिनिधिहरुलाई कार्यक्रममा आमन्त्रण नगरिएकाले पनि पीडितहरुले आफ्नो समस्या प्रष्ट रुपमा राखेका थिए ।

जनताको हितलाई सर्वोपरि मानी सहभागितामूलक, पारदर्शी, स्वच्छ, सक्षम, उत्तरदायी, प्रभावकारी, निष्पक्ष र विधिसम्मत शासन सञ्चालन गर्नु नै सुशासन भएपनि जनताले सुशासनको अनुभुति नभएको गुनासो गरेका थिए । नेपालको राजनीतिक अस्थिरता बढेर लामो समय स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा भन्दा पनि अहिलेको अवस्था झन् जटील बन्दै गएको सहभागीले निश्कर्ष निकालेका थिए ।

कार्यक्रममाथि प्रकाश पार्दै सुनारले अधिकार र जिम्मेवारीबीच तालमेल नहुँदा स्थानीय तहप्रति गुनासो बढ्नु स्वभाविक भएको बताउनुभयो । समस्याको पहिचान गरी निचोड निकाल्न र अन्यौलताबाट मुक्ति दिलाउन कार्यक्रमको आयोजना गरिएको स्थानीयले बताएका छन् ।

कार्यक्रममा स्थानीयले नगरपालिकामा सेवाग्राहीले कर्मचारीबाट दुःख पाएको बताएका थिए । उनीहरुले समयमा कर्मचारीहरु कार्यालयमा उपस्थित नहुने, कार्यालयमा हाजिर भए पनि कर्मचारीहरु कार्यकक्षमा नभेटिने र जनप्रतिनिधि र कर्मचारीबीच समन्वय हुने नगरेको बताएका थिए ।

सहभागीहरुले कर्मचारी र जनप्रतिनिधीहरु मिलेर नगरको सर्वोपरी हितको लागि काम गर्नु पर्ने आवश्यकता औल्याएका थिए । उनीहरुले कति पय समस्या आफुहरुलाई प्रशासनिक काम गर्ने तरिकाको बारेमा जानकारी नहुदा एकैदिनमा सकिने कामको लागि धेरै दिन नगरपालिका धाउनुपर्ने बाध्यता रहेको समेत बताएका थिए।

त्यसको लागि सहजीकरण गरिदिने कर्मचारीको अभाव हुदा समेत समस्या परेको भन्दै नगरपालिकाले सहजीकरण गरिदिने कर्मचारीको व्यवस्था गर्न समेत नगरपालिकालाइ अनुरोध गर्नु पर्ने बताएका थिए। नगरपालिकाको प्रमुख कुनै पनि दलको नभई साझा भएको हुँदा साझा ढंगले पक्षपात नगरिकन काम गर्नुपर्ने बताएका थिए सेवाग्राहीले सबै भन्दा धेरै दुख कार्यक्रम सम्पन्न पश्चात फरफारक गर्ने क्रममा डकुमेन्ट नपुगेको भन्दै एकै दिनमा हुने कामको लागि धेरै दिन सम्म दुख दिने गरेको बताएका थिए ।

अधिकांश सहभागीहरुले यस्ता कार्यक्रमले सकारात्मक परिवर्तनको लागि सहयोग पुग्ने भन्दै कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताएका थिए । कार्यक्रममा उठेका प्रश्न र सुझाब संकलन गरी सोमबार नगरपालिकामा आयोजकले ज्ञापनपत्र समेत बुझाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्