ट्युवेलमा पानी सुक्न थालेपछि ईनार प्रयोगमा



राजविराज (नेस)
ट्युवेलमा पानी सुक्न थालेपछि सप्तरीको रुपनी गाउँपालिका ६ दुधेलाका स्थानीयवासीले पुरानो ईनारलाई वैकल्पीक श्रोतका रुपमा प्रयोग गर्न थालेका छन् ।

आव ०७४÷०७५ को ‘पानी मुहान संरक्षण कार्यक्रम’ अन्तर्गत जिल्ला भुसंरक्षण कार्यालयले करिव डेढ लाख रुपैयाँ सहयोग गरेपछि जनश्रममदान समेत गरेर ईनारको मर्मत गरीएको हो । हाल पानीको समस्यावाट गाउँलेले राहत पाएको स्थानीय सत्यनारायण महतोले वताए ।

इनार मर्मतपछि करेसावारीको सिचाई देखि विवाह, भोज लगायतका काममा ठुलो सहयोग पुगेको उनी वताउँछन् । ‘इनारको पानी खानयोग्य भएपछि अधिकांश मानिस ट्युवेल भन्दा इनारकै पानी प्रयोग गर्न थालेका छन्’ महतोले भने–‘ट्युवेलको पानीमा अर्सेनीक भएकाले गन्हाउने र रंग आउने हुन्छ। ईनारको पानीमा त्यो समस्या छैन ।

जिल्ला भु संरक्षण कार्यालय सप्तरीका प्रमुख विष्णुवहादुर भणडारीका अनुसार इनारको संरक्षणले खानेपानीको समस्या हल गर्ने मात्र नभई हरियाली वढाउन र पर्यावरण जोगाउन पनि सहयोग पुगेको छ । स्थानीयवासीको आवश्यक्ता तथा वातावरण÷पर्यावरण जोगाउनका लागि भु–संरक्षण कार्यालयले ‘पुराना भत्के÷विग्रेका पानीका श्रोत संरक्षण तथा मर्मत सम्भारको काम’ योजनामै राखेर अघि वढाएको उनको भनाई छ ।

‘हाम्रो उदेश्य भनेको पानीको मुहान वचाई सुलभ खानेपानी आपूर्ति र हरियाली वढाउन सहयोग पु¥याउने हो’ भण्डारीले भने–‘यो योजना सप्तरीका उत्तरी क्षेत्रमा धेरै ठाउँमा लागु भएको छ ।’

चालु आर्थिक वर्षमा मात्रै सप्तरीको सुरुङ्गा र कञ्चनरुप नगरपालिका तथा तिरहुत र रुपनी गाउँपालिका गरी ७ वटा नयाँ ईनार निर्माण र २४ वटाको मर्मत सम्भार गरिएको भण्डारीले वताए । उनका अनुसार नयाँ इनार निर्माण र मर्मत सम्भारमा करिव ५० लाख रुपैयाँ खर्च भएको छ।

प्रतिक्रिया दिनुहोस्