छुवाछुत मुक्तिका लागि अझै पहल गर्न आवश्यक



नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा छुवाछुत मुक्तिका लागि अझै पहल गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १३ वर्षको सन्दर्भमा बेसीशहरमा आयोजित कार्यक्रमका वक्ताले त्यस्तो बताएका हुन् ।

देशमा परिवर्तनका लागि दलित समुदायको पनि उत्तिकै महत्वपूर्ण योगदान रहेको, दैनिक जीवनयापनमा उनीहरुको सीपले सहज बनाएको र मानवीय दृष्टिले सबैको रगत उस्तै हुने भएकाले अमानवीय व्यवहार नगर्न कविता मार्फत लामो समयदेखि मानव अधिकारका क्षेत्रमा क्रियाशील दलबहादुर मजाकोटीले बताउनु भयो ।

इन्सेक अभियानमा आवद्ध उहाँले दलित समुदायमाथि अहिले पनि जातीय विभेद, छुवाछुत र दुव्र्यवहार हुने गरेको भन्दै कवितामार्फत् समतामूलक समाज निर्माण गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विगतमा दलित समुदायले गर्दै आएका पेशा अन्य समुदायले अंगालेको बताउँदै पेशाको सम्मान भएको तर पेशा गर्ने ती जातिको सम्मान हुन नसकेको बताउनु भयो । उहाँले दलित समुदायका पढेलेखेका र शिक्षितलाई जातीय विभेद नहुने तर सर्वसाधारणलाई भने अझै पनि विभेदपूर्ण व्यवहार हुने गरेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा सरकारले गरेको घोषणा कार्यान्वयन गराउने कार्यलाई हालसम्मका सरकारले गम्भीरता साथ नलिएको सहभागीहरूको धारणा छ । आजका दिनमा पनि गाउँघरमा सानोजात र ठूलोजात छुट्याउने, दलित जातिले छोएको नखाने, दलितलाई घरभित्र प्रवेश गर्न नदिने, धारा कुवामा दलितसँग टाढै रहने, सामूहिक रूपमा दलितले पकाएको भोजमा नखाने, मेलापातमा खाजा नखाने समस्या अझै पनि रहेको अनुभव दलित तथा गैह्र दलित समुदायका सहभागीले बाँडेका थिए ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङले अझै पनि सञ्चार माध्यममा छुवाछुत र दुव्र्यवहारका समाचारहरू आइरहनुले समाजमा विभेद कायमै रहेको संकेत गरेको बताउनु भयो । उहाँले दलित समुदायलाई सुचनाको पहुँचमा ल्याउनु पर्ने र परिवर्तित राज्य व्यवस्थाले तय गरेका ऐन, नियम, कानून र कार्यक्रमबारे बुझाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नु भयो ।

सरकारले २०६८ जेठ १८ गते राजपत्रमा प्रकाशित गरी जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन जारी गरेको भए पनि प्रभावकारी नभएको आयोजकको भनाई छ । दलित सचेतना तथा सीप विकास केन्द्र र दलित सेवा संघको आयोजनामा भएको कार्यक्रममा दलित सचेतना तथा सीप विकास केन्द्रका अध्यक्ष हिरालाल विकको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी सरोज विकले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्