प्रदेश ७ मा एचआईभी संक्रमितहरु बढ्दै



विमल विष्ट, डोटी
देशका अन्य क्षेत्रमा एचआइभी संक्रमितको संख्या घटिरहेका बेला प्रदेश ७ मा भने संक्रमितको संख्या बर्षेनी बढ्दै गइरहेको छ ।

पछिल्लो एक बर्षमा मात्रै यस क्षेत्रमा एचआइभी संक्रमितको संख्या करिब ३ सय ५० ले बढेको एक तत्थ्यांकले देखाएको छ ।

देशभरीमा ७ प्रदेशमा सबैभन्दा बढी संक्रमितको संख्या भएको क्षेत्रका रुपमा चिनीन थालेको बिभिन्न संघ संस्थाको तथ्यांकले देखाएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय पायल,राजपुरको पछिल्लो तथ्यांक अनुसार यस क्षेत्रका ६ हजार २ सय ३८ जनामा रगत परीण पछि एचआइभी संक्रमण देखिएको छ ।

संक्रमितमध्ये १ सय भन्दा बढी १५ बर्षमुनिका बालबालिका रहेका छन् । एक बर्ष अघि संक्रमितको संख्या ५ हजार ९ सय ४ थियो भने करिब ६ हजार कै हाराहारीमा खुल्न नसकेका संक्रमित रहेको स्वास्थ्य अधिकारीको अनुमान छ ।

गरिबी, अशिक्षा, चेतनाको कमी तथा स्वास्थ्यमा सहज पहुँच नहुनु लगायतका कारणले ५० प्रतिशत संक्रमित समाजमा लुकेरै बसेको बताईएको छ । स्वास्थ्यकर्मीले एचआइभी संक्रमितको संख्या बर्सेनि बढ्नुको मुख्य कारण यहाँका अधिकांश पुरुष कामको खोजीमा भारत जानु र त्यहाँबाट संक्रमित भएर आएपछि अरुमा पनि सार्नु रहेको मानेका छन् ।
गरिबीले ७ प्रदेशका अधिकांश अधिकांस पुरुष कामका लागि बर्षेनी भारतका बिभिन्न शहरमा जाने गर्दछन् ।

भारतबाट संक्रमित भएर फर्केकाले संक्रमित भएको थाहै नपाएर घरमा श्रीमतीलाई सार्ने र सावधानी नअपनाउदा उनीहरुबाट जन्मेको बच्चामा पनि संक्रमण देखिने गरेको एचआइभीको क्षेत्रमा काम गर्ने संस्थाको तत्थ्यांकमा उल्लेखछ ।

प्रदेश ७ मा एचआईभी संक्रमित महिलाको संख्या पुरुषकै हाराहारीमा छ । एचआईभी संक्रमितको संख्या बढी भएका यहाँका जिल्लाहरुमा कैलाली, कञ्चनपुर, अछाम र डोटी छन् । संक्रमितको संख्या वृद्धि दर पनि यी चारवटै जिल्लामा अन्य जिल्लाको तुलनामा बढी भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ ।

निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा बढी २ हजार ९ सय ४८, अछाममा १ हजार ३ सय ९१, डोटीमा ९ सय ९५, कञ्चनपुरमा ४ सय २०, बैतडीमा १ सय ५६ र डडेल्धुरामा १ सय ४९ जना संक्रमित छन् । पछिल्लो एक बर्षको अवधिमा कैलालीमा मात्रै १ सय ५० जना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो बर्ष बझाङमा ८२, बाजुरामा ७४ र दाुर्चलामा २३ जनामा एचआइभी संक्रमित देखिएको छ ।

निर्देशनालयका अनुसार संक्रमित मध्ये करिब ३ हजार भन्दा बढीले एआरटी सेवा लिइरहेका छन् । संक्रमितको रगतमा सिडिफोर जीवाणु ३ सय ५० भन्दा कम देखिए नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।

हालसम्म यस क्षेत्रमा एचआइभीका कारण ४ सय ५० जनाभन्दा बढीको मृत्यु भइसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । एचआइभीका लागि सरकारी बजेट र कार्यक्रम कम हुनु, अन्य क्षेत्रभन्दा गरिबी र अशिक्षा यस क्षेत्रमा बढी हुनु, स्वास्थ्यमा सहज पहुँच नहुनु एचआइभी रोकथामको प्रमुख चुनौती रहेको निर्देशनालयको भनाइ छ ।

एचआइभी रोकथामका लागि भन्दै दर्जनौ संस्था यहाँ कार्यरत रहे पनि संक्रमण दर बर्सेनि बढ्दो क्रममा छ । एचआइभीका क्षेत्रमा काम गर्ने संघ संस्थाले एकीकृत रुपमा कार्यक्रम सञ्चालन गर्न सकेमात्रै यहाँको एचआइभी संक्रमणको रोकथाममा महत्वपूर्ण सहयोग पुग्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्