सडकको अवस्था सुधार्न जिल्ला विपत व्यवस्थापन समितिको निर्देशन



नेपाल समाचारपत्र, विदुर
आसन्न बर्षयामलाई लक्षित गरी विपत् पूर्वतयारीको लागी बसेको जिल्ला विपत् व्यवस्थापन समिति नुवाकोटको बैठकले जिल्लामा सञ्चालनमा रहेका सडकहरुको अबस्था निकै दयनीय रहेको भन्दै त्यसलाई सुधारको लागी मुख्य प्रथामिकतामा दिएको छ ।

नुवाकोट भित्र सञ्चालनमा रहेका तथा जिल्लाबाट बाहिर जाने मुख्य तीन सडक खण्ड देवीघाट–गल्छी, त्रिशूली–ककनी–बालाजु र त्रिशूली–छहरे–टोखा सडक दैनिकजसो अबरुद्ध हुने र यात्रुबर्गले कष्ट सहनुपरेको भन्दै त्यसमा सुधारको लागी मुख्य प्रथामिकता दिएको छ ।

विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी भएका विदुर नगरपालिकाको मेयर सञ्जु पण्डित, बेलकोटगढी नगरपालिकाको उपमेयर कविता ढुङ्गाना, तादी गाँउपालिका प्रमुख नारायण पाण्डे, पञ्चकन्या गाँउपालिका अध्यक्ष रमेश तामाङ, साविक नेकपा एमालेका जिल्ला सचिव बुद्धि प्रधान, काँग्रेस सचिव सुरेन्द्रराज अधिकारी, माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य लिलानाथ न्यौपानेले जिल्लाको सडकको अबस्था सुधारको लागी गम्भीर बन्न समितिको अध्यक्ष रहनुभएका प्रमुख जिल्ला अधिकारी सहितका सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

स्थानीयतहका प्रमुख र दलीय प्रतिनिधिहरुले विपत्को पूर्व तयारीको लागी सडकलाई व्यवस्थित गर्नुपर्ने र त्यसमा खाल्डाखुल्डी पुर्न र मर्मतसम्भारको लागी नदीबाट बालुवा गिट्टी उत्खनन् गर्न सर्वोच्वको आदेशले रोकिएको भन्दै त्यसलाई सहज बनाएर सडकलाई बर्खायाममा सुचारु हुने अबस्था बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।

दलीय प्रतिनिधि तथा स्थानीयतहका जनप्रतिनिधिले सडक सुचारु गर्न नदीको उत्खनन् गर्न नपाएको भन्दै जनाएको असन्तुष्टिलाई प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सर्वोच्चको आदेशले रोकिएको केही समय मात्र भएकाले त्यो समयभन्दा अघि पनि यहाँको सडकको अबस्था जीर्ण भएकाले आफ्नो कार्यक्षेत्र भित्रका सडकलाई व्यवस्थित बनाउनको लागी जिम्मेवारी बहन गर्न स्थानीयतलाई सचेत गराउनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी थापाले सडकलाई चुस्त दुरुस्त बनाएर जिल्लाको लागी आवश्यक पर्ने औषधी, खाद्यान्न, आपतकालीन सामाग्रिलाई सरोकार राख्ने कार्यालयहरुले तयारी अबस्था बनाएर राखेर आसन्न संभावित विपत्को सामना गर्न तयारी अबस्था रहने बताउनुभएको छ ।

यसैगरी, दलीय प्रतिनिधि तथा स्थानीयतहका जनप्रतिनिधिले सडक सुचारु गर्न नदीको उत्खनन् गर्न नपाएको भन्दै जनाएको असन्तुष्टिलाई जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले कानून बनाएर उत्खनन् गर्न पाउने व्यवस्था स्थानीयले सुरु गरेकाले त्यही अनुसार अघि बढेर समस्या समाधान गर्न सुझाब दिनुभएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लामा रहेका सबै स्थानीयतहमा ‘स्थानीय विपत् व्यवस्थापन समिति’ गठन गर्ने र गरिसकेको स्थानमा सक्रिय बनाउने, जोखिम क्षेत्रको पहिचान गरी उनीहरुलाई सुरक्षित स्थानमा लैजानको लागी तयारी मिलाउने, विपत्बाट जोखिम भएकालाई उद्धार गरी राख्नको लागी दुई वर्ष अघि निर्माण भएका सामुदायिक भवनलाई तयारी अबस्था राख्नको लागी सम्बन्धित पक्षलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्