नेपाल समाचारपत्र, हेटौँडा ।
मकवानपुरको बिकट राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न वडा आधा वर्ष भोकमरीको चपेटामा पर्ने गरेको छ । त्यहाँको उत्पादनबाट आधा वर्ष खान पुग्छ भने आधा वर्ष कन्दमूलबाट दैनिकी चलाउनपुर्ने बाध्यता छ ।
त्यही गाउँका विभिन्न विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएसँगै विद्यार्थीहरु नियमितरुपमा विद्यालय जान थालेका छन् । केही वर्षअघिसम्म बीचमै विद्यालय छाड्ने र हाफटाइम भन्दा बढी समय नपढ्ने विद्यार्थी उल्लेख्य थिए भने हाल त्यो रोकिएको छ ।
चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिका वडा–६, ७ र ८ अर्थात् साबिक काँकडा गाविसका एक माविसहित १६ स्कुलका विद्यार्थीलाई ६ वर्षदेखि दीगो विकासका लागि एकता नेपाल गैरसरकारी संस्थाले स्कुलमा खाजा खुवाउँदै आएको छ । उक्त संस्थाले आफूहरुको कार्य प्रभावकारीरुपमा अगाडि बढिरहेको जनाएको छ ।
उक्त संस्थाको सहयोगमा स्कुलले २ दिन खिचडी र ४ दिन तरकारी चिउरा खुवाउने गरेका छन् । संस्थाले १६ स्कुलका दुईहजार पाँचसय नौ विद्यार्थी र छ वटा ईसीडीका दुईसय पाँच बालबालिकालाई दिवा खाजा खुवाउँदै आएको छ ।
‘स्कुलमा खाजा व्यवस्था भएपछि विद्यार्थीे भर्ना दर बढेको छ, बीचैमा पढाइ छाड्ने र भोक लागेका कारणले हाफटाइम पनि स्कुलबाट भाग्ने प्रवृत्ति रोकिएको छ,’ काँकडास्थित सिलिङ्गे माविका प्रधानाध्यापक तारानाथ दुवाडीले दिवा खाजाको प्रभाव विद्यालयमा राम्रो परेको, बाबुआमालाई पैसा दिँदा दुरुपयोग हुने, विद्यार्थीलाई स्कुलमा खाजा दिँदा पढाइमा निरन्तरता हुने र पोषणको समस्या पनि नहुने देखिएको बताउनुभयो ।
उक्त क्षेत्रको स्कुलमा ६ वर्षदेखि संस्थाले दिवा खाजा व्यवस्था गरेकाले चेपाङ विद्यार्थीको संख्या बढ्नुका साथै बीचैमा पढ्न पनि छाडेका छैनन् ।
राक्सिराङ गाउँपालिका ३ वटा वडाका शत्प्रतिशत बालबालिका स्कुल भर्ना हुने गरेका छन् । विद्यालयले भर्ना अभियान सञ्चालन गरेर विद्यालयमा शत्प्रतिशत विद्यार्थी आउने वातावरण बनाएको हो ।
‘शत्प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका छन्, ड्रपआउट छैनन्,’ प्रधानाध्यापक दुवाडीले भन्नुभयो । उक्त संस्थाले काँकडामा भुकम्पबाट भत्केका पाँच विद्यालय भवन पुनर्निर्माण गरिरहेको छ भने विद्यार्थी संख्या अनुपातमा शिक्षक नभएकाले निजी स्रोतबाट राखिएका २१ शिक्षकलाई मासिक तलब उपलब्ध गराउँदै आएको छ ।
‘अभिभावकलाई खाजाको पैसा दिनेभन्दा पनि स्कुलमा नै खाजा खुवाउने गरियो भने प्रभावकारी हुन्छ,’ कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानका अनुसार विद्यालयमा नै दिवा खाजा खुवाउने व्यवस्था गर्नुपर्छ ।
‘सरकारको नीति नै अभिभावकलाई नै खाजाको रकम उपलब्ध गराउने छ,’ शिक्षा कार्यालयका एक अधिकृतले थपे, ‘यो त्यति प्रभावकारी देखिएको छैन । जिल्लाभर वैशाख पहिलो साताबाट विद्यालय भर्ना अभियान सञ्चालन हुने भएको छ ।











प्रतिक्रिया