प्रदेश–३ को नाम ‘नेवाः ताम्सालिङ’ राख्न माग



नेपाल समाचारपत्र, हेटौंडा ।

देशको केन्द्रीय राजधानीसमेत रहेको प्रदेश नम्बर–३ को नाम ‘नेवाः ताम्सालिङ’ राखिनुपर्ने भन्दै मुख्यमन्त्री डोरमणि पौडेललाई पत्र दिइएको छ । यसअघि ‘पशुपति’, ‘बागमती’, ‘नेपालमण्डल’ तथा ‘नेवाः ताम्सालिङ’ लगायत नाम चर्चामा रहे पनि प्रदेशमा बाहुल्यता भएर पनि आवाज उठ्न नसकेपछि ‘नेवाः ताम्सालिङ’ नामाकरण गर्ने कुरा हराउँदै गएको थियो । तर, मुख्यमन्त्री पौडेललाई यस विषयमा घच्घचाउने कार्य निरन्तर भइरहेको छ ।

‘नेवाः ताम्सालिङ’ नामाकरणका लागि मुख्यमन्त्री पौडेललाई नेपाल तामाङ घेदुङ र नेवाः देय दबूः ले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्रीको कार्यालय हेटौंडामा मंगलबार ज्ञापनपत्र बुझाइएको हो ।

तामाङ घेदुङ केन्द्रीय महासचिब बाबु घिसिङ र दबूः का दिलिप महर्जनको नेतृत्वमा रहेको टोलीले मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो ध्यानाकर्षण भएको र संसद् बैठकमा छलफलमा लिएर जाने आश्वासन व्यक्त गर्नुभयो ।

प्रदेशको राजधानी र नामाकरण प्रदेशसभाको दुई तिहाईले निर्णय गर्ने विषय भएको भन्दै मुख्यमन्त्री पौडेलले सोहीअनुसार नामाकरण हुने बताउनुभयो । नामाकरण र राजधानी निर्णयको कुरा आफ्नो हातमा नभएको बताउँदै मुख्यमन्त्री पौडेलले आफूले सक्दो पहल गर्ने र प्रदेशसभामा यस विषयमा छलफल गरिने बताउनुभयो ।

घेदुङका तर्फबाट केन्द्रीय अध्यक्ष मोहन गोले र दबूः का केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्राकारद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रदेश राजधानी केन्द्रीय राजधानी काठमाडौंबाट सबभन्दा नजिकको जिल्लामा राखिनुपर्ने भन्दै प्रदेश राजधानी हुनुपर्ने विभिन्न आधारसमेत उल्लेख गरिएको छ ।

उल्लेख भएका विवरणअनुसार प्रदेशको राजधानी काभ्रेको बनेपा, धुलिखेल, पनौती नगरपालिकालगायत क्षेत्रमा तोक्न उपयुक्त हुने दाबी गरिएको छ । प्रदेशको सरकारी कामकाजी भाषाका रुपमा नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई बनाउन माग गरिएको छ ।

प्रदेशका विद्यालय तथा विश्वविद्यालयमा मातृभाषा शिक्षा अनिवार्य विषय बनाउनुपर्ने लगायत ५ वटा माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्