“हारको दोष ६०⁄४० नै गरेर भागबन्डा गर्नुपर्छ”



डा. नारायण खड्का
नेता, नेपाली कांग्रेस

निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि नेपाली कांग्रेसभित्रको विवाद चर्किंदै गएको छ। विशेष गरी पार्टी नेतृत्वको आलोचना गर्दै नेताहरूले विशेष महाधिवेशन वा महासमितिको बैठक बोलाउन पनि दबाब दिएका छन्। पार्टी तेस्रो स्थानमा खुम्चिएपछि कांग्रेसभित्र विवाद उत्कर्षमा पुगेको छ। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा हार्नुको कारणका बारेमा समीक्षा बैठकसमेत नबोलाउँदा पार्टीका नेताहरू रुष्ट भएका छन्। निर्वाचनपछि सरकारले लिएको कतिपय निर्णयप्रति पार्टीभित्रबाट आलोचना शुरू भएको छ। यसै विषयमा पार्टीभित्रको विवाद, नेतृत्व परिवर्तनको सवाल र अब कांग्रेसले लिने बाटोलगायतको विषयमा केन्द्रीत रहेर सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता डा. नारायण खड्कासँग नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझी दीपेन्द्र थापाले गरेको कुराकानीः–

निर्वाचनको परिणाम अपेक्षाकृत आएन भन्दै पार्टीभित्र विवाद चर्किएको छ नि ?

निर्वाचनका बारेमा हामीले सूक्ष्म अध्ययन गरेनौं। विपक्षीका मुद्दा र एजेन्डाहरू बारेमा पर्याप्त छलफल गरेनौं। सबैलाई टिकटतिर लहर र लहड थियो। टिकटकै झमेलामा पार्टी नेतृत्व फस्यो। निर्वाचन कसरी हाँक्ने ? निर्वाचमा जनतासमक्ष आफ्ना एजेन्डा कसरी लिएर जाने बारेमा पर्याप्त ध्यान नै जान सकेन। टिकटका दाबेदार सबैले चुनाव जित्छु भन्नेतिर मात्र लागे। टिकटको बाँडफाँड गर्नेगरी निर्वाचनको पूर्वसन्ध्यामा माओवादी केन्द्र अचानक हामीलाई छोडेर एमालेतिर गयो। २ कम्युनिस्ट पार्टी मिल्दाको च्यालेन्ज त हामीले सामान्यतया छलफल गर्यौ।

तर त्यसलाई सूक्ष्म तरिकाले काउन्टर गर्ने भन्ने बारेमा हाम्रो कुनै तयारी नै थिएन। निर्वाचनमा पार्टीको झण्डा एकाकार भएर निर्वाचनमा होमिनुपर्ने थियो तर त्यस्तो हुन सकेन। एमाले र माओवादीले एकले अर्कोलाई भोट हाल्दैनन् भन्ने हाम्रो निष्कर्ष थियो। अन्तिममा एकले अर्कोलाई भोट हाले। हाम्रो पार्टी सरकारमा रहँदाखेरि गरेको राम्रो कामका बारेमा पनि जनताको बीचमा व्याख्या गर्न सकेनौं। सरकारले केही काम गर्न सकेन भनेर नै विपक्षीले प्रचारको विषय बनाए। हाम्रो पार्टीभित्र गुट उपगुटको रोग पनि छँदै थियो। अन्तरघातको रोग पनि पुरानै हो।

त्यसो हो भने निर्वाचनमा विपक्षीका कारणले भन्दा पनि पराजित हुनुमा आन्तरिक कारण पनि मुख्य देखियो हैन त ?

पार्टीभित्र सिद्धान्तको विषयमा बहस गर्नका लागि गुट स्वभाविक मानिन्छ। महाधिवेशनमा, संसदीय दलको निर्वाचनमा उम्मेदवार हुन्छन्। त्यसमा जसले आफ्नो एजेन्डा दिन्छ उसले जित्ने हो। तर अहिले पार्टीभित्र एजेन्डा बिर्सिएर सत्ता मात्र दौडिने खेल छ। पार्टीको नेतृत्वलाई गाली मात्र गर्ने संस्कार गलत छ। पार्टीभित्र सैद्धान्तिक मतभेदभन्दा पनि नेतृत्वले कसले हत्याउने, सत्तामा कसरी पुग्ने त्यो खालको गुटबन्दी देखियो। चुनाव संसारभर हुन्छ। निर्वाचनमा पराजित हुनेले पनि स्वस्थ आलोचना गर्ने, आन्तरिक रूपमा गुटहरूले पार्टी निर्माणका लागि हाम्रो कुरा उठाउनुपर्ने हो। तर हाम्रो पार्टीभित्र त छरपस्ट रूपमा बाहिरै गाली गर्ने प्रवृत्ति देखियो। चुनावमा जसले टिकट पाएन ऊ हराउन नै लाग्ने देखियो। टिकट नपाउने अन्तरघात गरेको देखिन्छ। निर्वाचनमा आकांक्षी सबैले टिकट पाउँदैनन्। पुराना साथीहरूले राजनीतिक भविष्य यसै सकियो त्यसै सकियो पार्टीमा अन्तरघात गर्ने रोग देखियो।

पार्टीका कार्यकर्ताहरूमा नेतृत्वप्रति जवाफदेहीता घट्दै गएको हो ?

अनुशासन उल्घंनका घटना बढ्दै गए पनि अहिलेसम्म पार्टीले अनुशासन उल्लघंनमा कारबाही गर्न सकेको छैन। अन्तरघात भएको प्रमाणसहित रिपोर्ट आउँदा पनि हामीले त्यसलाई ढाकछोप नै गर्यौं। एउटा गुटको मान्छे बढी पर्ने बित्तिकै अर्को गुटले विरोध गरिहाल्ने। त्यसकारण पार्टीभित्र अनुशासनहीनता पनि मौलायो। पराजको मुख्य कारण हाम्रा कार्यकर्ता सतही भए। आत्मविश्वासको साथ तल गएर खटने, विपक्षलाई काउन्टर गर्न जमात तयार पर्ने काम पनि नगर्ने, निर्वाचनमा टिकट नपाउने तल्लोस्तरमा गएर कार्यकर्तासँग भोट नमाग्ने। कार्यकर्ताहरू बढीजसो मोजमस्ती र खानेपिनमा रमाउने प्रवृत्ति देखियो। यसको अलबा कम्युनिस्टहरूको कार्यकर्तामा इमान्दारिता हुने देखियो। कार्यकर्ताहरूमा पार्टीप्रति लगनशीलता र लगाव भएन। पार्टीको क्रियाशील सदस्यताको भूमिका नै भएन। पार्टीले हार्दा जित्दा के हुन्छ भन्नेभन्दा पनि मेरो स्वार्थ कसरी पूरा हुन्छ ? भन्ने जमात देखियो। मासबेस भएको पार्टी ठूलो देखिन्छ। तर निर्वाचनमा भोट आउँदैन।

तर ती कार्यकर्तालाई यस्तो बनाउने काम त नेतृत्वकै हो नि होइन ?

कांग्रेसका कार्यकर्ता चुनावबाहेक अरू बेला परिचालित नै हुँदैनन्। पार्टी चलायमान मानिसहरू आउने⁄जाने गर्छन्। काठमाडौंबाट जिल्ला जाने कार्यकर्ताहरूसँग छलफल गर्ने सभा सम्मेलन गर्ने काम कमै हुन्छ। चुनावमा जानका लागि पनि कार्यकर्ता यो चाहिन्छ र त्यो चाहिन्छ भनेर बार्गेनिङ गर्नतिर लागे। अब हामीले कुनै कार्यक्रम गर्नुपर्यो भने कार्यकर्ताहरूलाई खोज्नुपर्छ। पार्टीभित्र स्वस्फूर्त र क्रियाशीलता देखिँदैन।

निर्वाचनमा पार्टी पराजित भए पनि नैतिकताको आधारमा पार्टी सभापतिले राजिनामा दिनुपर्ने प्रश्न पनि उठेको छ नि ? पार्टीभित्रैबाट राजिनामाको कुरा आयो नि ?

यस्तो आवाज त सधैंभरि हुँदैन। शुरुमा चुनाव हारेको झ्ँवाक थियो। अमेरिका र अमेरिकालगायतका विकसित दलहरूमा नैतिकताको आधारमा राजिनामा दिने प्रचलन छ। हाम्रो सोसाइटी फरक हो। निर्वाचनमा पराजित हुनुको कारण पहिलो जिम्मेवारी त पार्टी सभापतिले नै लिनुपर्छ। नैतिकताको कुरा आ–आफ्नै खालको व्याख्या हुन्छ। सभापतिलाई नैतिकता सिकाएर यो–यो गर भन्ने कुरा हुँदैन। तर पार्टी सभापति मात्र दोषी होइन। पार्टी सभापति एक्लैले मात्र जिम्मा लिनुपर्छ भन्न पक्षमा म छैन्। टिकट बितरणमा पनि ६०⁄४० देखियो। यसरी भागबन्डा गरेपछि दोष पनि ६०⁄४० नै गरेर भागबन्डा गर्नुपर्छ। प्रधानमन्त्री बनेर काम गर्ने धेरै पाउनुभएन। प्रधानमन्त्री भएलगत्तै निर्वाचनको मिति घोषणा गर्नुपर्यो। त्यसपछि पुनः निर्वाचन आचारसंहिता लागू भयो। केही निर्णयहरू विवादास्पद बने होलान्। प्रधानन्यायाधीश, आईजीपी प्रकरणले शहरी क्षेत्रमा प्रभाव पार्यो। जनताको दैनिक जीवनमा कसले खानेपानी देला ? कसले सडक बनाइदेला ? भन्ने चिन्ताको विषय हो। प्रधानन्यायाधीश र आईजीपी प्रकरणले के गर्यो भन्नेमा गाउँका जनताको धेरै ध्यान तानेको देखिँदैन।

निर्वाचन सम्पन्न भएको दुई महिना बितिसक्दासमेत निर्वाचनमा पार्टीले हार्नुको कारणको विषयमा समीक्षा बैठक बोलाउन नेताहरूले माग गरे पनि नेतृत्वले किन वेवास्ता गरिरहेको छ नि ?

हारपछि तत्काल पार्टीले बैठक बोलाए समीक्षा गर्नुपर्ने हो। निर्वाचन लगत्तै पार्टी समानुपातिकको उम्मेदवारमा अल्झियो। समानुपाति उम्मेदवारसँगै प्रदेशसभा र राष्ट्रियसभाको विषयमा पार्टी अल्झियो। छोटो बैठक त भयो। २४ पछि विस्तृत पार्टीको समीक्षा राख्छु भन्नुभएको छ। हेरौं पार्टी सभापतिले के गर्नुहुन्छ। तर जिम्मेवारी भनेको पार्टी नेतृत्व र टिकट बाँड्ने समूहले लिनुपर्छ। विधानसम्वत संसदीय बोर्ड बनेको होइन। शेरबहादुरजीलाई मन परेका मान्छेहरू उहाँले ल्याउनुभो। रामचन्द्रजीलाई मनपरेका मान्छेहरू उहाँले ल्याउनुभो। चाहिनेभन्दा बढी व्यक्तिहरू टिकट बितरण गर्न लागे। ती सबैले हारको जिम्मेवारी लिनुपर्छ। पहिला आफू सुरक्षित हुनका लागि समानुपातिकतर्फ मिलाउन लागे। आफू सुरक्षित हुनका लागि अरूका बोरमा चिन्ता नै भएन। जसले टिकट बितरण गर्न बसेका थिए उनीहरूले आफ्ना को–को व्यक्ति समानुपातिकमा ल्याउने भन्नेमा सोचे। टिकट बितरण गरेकामध्ये २३ जना उम्मेदवारले त जिते। उनीहरूले चुनाव जित्नुको कारण के हो ? शेरबहादुर देउवाजीले त प्रधानमन्त्री भएको कारणले जित्नुभयो। मजस्तो मान्छेले कसरी जित्यो होला ? सामान्य साथीहरूले चुनाव जित्नुभएको छ। त्यसको कारण के हो ? जित्नुमा पार्टी सभापतिलाई दोष दिनुपर्ने फ्याक्टरले काम गर्यो कि गरेन ? या काम गरेर कम भोट आएको हो कि ? पार्टी अब जुन दिशामा चलेको छ। पार्टी अब त्यसरी चल्न सक्दैन। पार्टीको विधालाई अक्षरअंश पालना गर्नुपर्यो। कार्यसमितिले गरेको निर्णय कार्यान्वयन हुनुपर्यो। पार्टीका माथिल्लो तहका नेताहरूले आफूलाई मन परेको व्यक्तिलाई समानुपातिकमा ल्याइदिने। समानुपतिकमा दोहोर्याएर ल्याउने काम गलत छ।

पार्टीभित्र नेतृत्व नै परिवर्तन गर्नुपर्ने माग पनि उठने छ नि ? अहिले नेतृत्व परिवर्तनको सम्भावना छ ?

नेपाल समाज कसरी बनेको छ भने अलि बढी जेठोबाठो र सिनियरलाई विश्वास गर्छ। समाजले गतिलो परिपक्व पनि हेर्छ। हाम्रो पार्टीमा बुढा, प्रौढ, युवा सबै बसेर बनेको पार्टी हो। एउटा समूहलाई हटाउने बित्तिकै समस्या भइहाल्छ। जोसुकै व्यक्तिको नाम लिए पनि पार्टीभित्र कोही पनि सर्वमान्य छैनन्। पार्टी सभापतिलाई कति खरो रूपमा गाली रहेका हुन्छन्।

कोही पनि सर्वमान्य सबैले स्वीकार गर्न सक्ने व्यक्ति छैन। जसले दबाबमा नै छोडनुपर्छ भन्दा समस्या थप सृजना हुन्छ। दबाबमा हटाउन खोजे उसको पनि पार्टीमा शक्ति हुन्छ। शक्तिको आडमा विग्रह आउने अवस्था आउन सक्छ। विधिविधानमा चल्ने पार्टी भएकाले महाधिवेशन आउँदाखेरि चुनाव लडेर पनि जिते हुन्छ। अहिले नै पार्टीलाई खलबलाएर अहिले नै छोडी तिमीलाई हामी हटाउँछौं भन्ने कुरा गलत छ। हटाउने कुरा समस्याको मसाधान होइन।

पार्टीभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने आवाज पनि उठेको छ नि ? तत्काल विशेष महाधिवेशन सम्भव छ ?

यो काम गरियो भने पार्टीभित्र विग्रह आउछ। मलाई लाग्छ त्यो सम्भव छैन । पार्टी सभापतिलाई हटाउने निर्णय होला। तर पार्टी सभापति पनि एउटा शक्ति सञ्चय गरेर बसेको व्यक्ति हो। सभापतिको ती कार्यसमितिभित्र पनि बहुमत होला। महासमितिको बैठक पनि होला। टिकट लिनुभन्दा अगाडि कुनै पनि कमजोरी पार्टी सभपातिको देख्नुभएन। सबैले टिकट लिएर हिँडनुभो। त्यतिबेला नै सभापतिलाई तपाईंको कारण म हार्छु भनेर टिकट नै लिनुहुँदैन्थ्यो नि। टिकट लिँदा रमाउने हारेपछि छटपटाउने यो राम्रो तरिका भएन।

महाधिवेशन भएको लामो समय बितिसक्दासमेत पदाधिकारीको पूर्णता दिन सक्नुभएको छैनन नि पार्टी सभापतिले नचाहेको हो कि नसकेको हो ?

पार्टीको पदाधिकारी र विभाग अझै पूर्णता पाउन सकेका छैनन्। पार्टी एकदम चलायमान हुनुपर्छ। पार्टी भनेको केही कार्यक्रम हुँदा भरिभराउ हुनुपर्छ। अन्तर्राष्ट्रिय सम्बन्ध जिल्ला र क्षेत्रको फिटब्याकअनुसार पार्टीले नीति तय गर्नुपर्छ। सभापतिले होला कति जनालाई बचन दिनुभएको होला। हाम्रो पार्टीको अहिलेसम्म आत्मविश्वास भएको नेताहरू भनेको विपी र कृष्णप्रसाद भट्टराई मात्र हो। गिरिजाप्रसाद कोइरालामा पनि आत्मविश्वास थिएन। बाहिर त सहासिलो देखिनुहुन्थ्यो। तर भित्र भने सानो कुरामा पनि एसम्यान खोज्नुहुन्थ्यो।

आफ्नो मान्छे ल्याउँ त्यहीभित्र पनि झगडा हुने हो कि ? अर्को गुटको मान्छे ल्याउँ त्यसले सहयोग गर्दैन कि ? कुन–कुन गुटका लागि वचन दिनुभएको थियो। दोस्रो काम गर्दै जाउँ पछि गरौंला भन्ने पनि होला। जो दिनैपिच्छे जान्छ दाइ भन्छ । एसम्यान आपूmले टेस्ट नगरेको मान्छेलाई विश्वासन नगर्ने प्रवृत्ति छ।

 

सरकारको पछिल्लो निर्णयमा दिनहुँ शहीद घोषणा गरिरहेको छ नि ?

यो राम्रो त होइन। तर राजनीतिक आग्रह पूर्वाग्रहमा एउटा पार्टीले आफ्नो मान्छेलाई मात्र शहीद घोषणा गर्ने प्रचलन छ। हामी निकै बचेर काम गर्ने पार्टी हो। शहीदमा पनि परिभाषा स्पष्ट हुनुपर्छ। माओवादीले पनि कतिलाई शहीद बनायो। बाँदरमुढेमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्नुपर्ने दबाब थियो। सामान्यतया झुन्डिएर मरेकाहरू पनि शहीद घोषणा भएका छन्। माओवादीको तथाकथित जनयुद्धको समयमा त्यो घटना घटेको हुनाले शहीद घोषणा गरिएको हो।

कांग्रेसले किन यस्तो काममा प्रतिस्पर्धा गरेको त ?

त्यो त होइन। राजनीति त हो। सरकारमा रहँदा केही पनि काम नगर्ने हो भने सबै कार्यकर्ता आक्रोशित हुने भए। सामाजिक न्यायको विषयमा न्याय दिन पनि नसकिने भए। हाम्रो अर्थमन्त्रीहरूले राज्यको ढुकुटी छैन भन्ने काम गरे। अर्को पार्टीले धमाधम गर्न थाले। राजनीतिमा यस्तै उटपट्याङ गर्नेहरूले चुनाव जित्ने भए। चुनावी राजनीतिमा जाँदा केही पनि नगर्ने, अलोकप्रिय हुँदै जाने भयो। यदी यो अस्वस्थ खालको प्रतिस्पर्धा रोक्ने हो भने सबै दलहरू बसेर सर्वदलीय सहमति गरेर जानुपर्यो।

चुनाव घोषणापत्र आ–आफ्नो हुन्छ। माओवादी र एमालेको संयुक्त घोषणापत्रमा सामाजिक बृद्धभत्ता पाँच हजार भनिएको छ। पाँच हजार बढाउँदा अर्थतन्त्रलाई ठूलो व्यवहार त होला। उनीहरूको किन त्यो घोषणापत्रमा राखियो ?

६५ वर्षमा बृद्धभक्ता दिने, भूकम्पपीडितलाई एक लाख रूपियाँ दिने राम्रो निर्णय भए पनि राज्यको ढुकुटीमा बजेट त छैन नि ?

६५ मा झार्नुपर्ने कारण नेपालीको औषत आयु ७० लाई आधार मानेर हो। स्वास्थ जीवन बाँच्नके लागि तर्क भयो। यो निर्णय सरकारलेअघि नै गर्नुपर्दथ्यो। जाँदाजाँदै पनि भयो। तर बीचमा अस्वस्थ्य काममा हात बाँधेर बस्दा पछि असर गर्ने भयो। अहिले हामीले नगरेको भए पनि भोलिको सरकार त गर्छ। भोलि फेरि हामी चुनावमा जानुपर्छ। हामीलाई बाध्यता त्यो पर्यो।

माओवादी र कांग्रेसको बीचमा सरकार बन्ने सम्भावना छ ?

अहिले सम्भावना छैन। संघीयता कार्यान्वयमा अहिले लथालिङ्ग अवस्थामा छ। साधनस्रोत केही पनि छैन। कति कर्मचारी कहाँ राख्ने ? प्रदेश र केन्द्र प्रदेश र स्थानीय तहको विवाद पनि छ। एउटा प्रदेशले भन्यो मर्यादापालकले दौरा सुरुवाल लगाउन पाउँदैनन्। भोलि एउटा प्रदेशले मेरा प्रदेशबाट सवारी नचला भन्ला। संघीयता सक्रमणकालीन अवस्थामा छ। प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गाडी घोडाको अपेक्षा गरिरहेका छन्। सिंहदरबारमा प्रदेशमा को जाने नजाने झगडा छ। पैसा कहाँबाट ल्याउने ? सरकार टाट पल्टियो भने के गर्ने ?

यसको अर्थ संघीयता कार्यान्वयन गर्न त्यति सहज देखिँदैन ?

मन्त्रालयमा प्रदेशमा भएका ठूलो संरचना चलाउन पाउने कि नपाउने ? मन्त्री भएपछि दोकान थापेजस्तो गरी बस्दैन। सबै लफडामा हामी पर्न सक्छौँ। संक्रमणकालीन अवस्था छ। यो ५ वर्ष निकै कठिन छ। यो ५ वर्ष धान्न सक्छौं कि सक्दैनौं ? १०० जना मन्त्री हुन्छन् होला। गाडी घोडा तलब रेमिट्यान्सले धानेको छ। त्यसपछिको अवस्थाबाट थाहा पाउन सक्छौं।

अब कांग्रेसले खेल्ने भूमिका के हुन्छ ?

जनता र राष्ट्रका हितमा काम गर्छौं। राष्ट्रियता र सार्वभौमिकताविपरीत द्वन्द्व र अस्थिरता सृजना हुने निर्णय भए त्यसको सडक र सदनबाट प्रतिवाद गर्छाैं। हामी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छौं।

प्रतिक्रिया दिनुहोस्