ईश्वरराज ढकाल, काठमाडौं
रानीपोखरीको पुनर्निर्माण अध्ययन विशेषज्ञ समितिले महानगरका प्रमुखलाई प्रतिवेदन बुझाएको छ। हिजो आइतबार समितिका संयोजक विष्णुराज कार्कीले प्रतिवेदन बुझाउँदै रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न सकिने पर्याप्त आधार रहेको बताउनुभयो।
‘रानी पोखरीको बाहिरी र भित्री पर्खालको संरचना, मूर्तिलगायतका वस्तु तथा सामग्रीका विषयमा प्राप्त तथ्यलाई आधार मान्दा पुरानो शैलीमा पुनर्निर्माण गर्न सकिने देखिएको हो।’ –समितिका संयोजक कार्कीले जानकारी दिनुभयो।
पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की संयोजकत्वमा गठित ११ सदस्यीय समितिका ३ जना सदस्यले प्रतिवेदनमा हस्ताक्षर गरेनन्। पछिल्लो संरचनालाई कायम गर्नुपर्ने अडान राखेर उनीहरूले हस्ताक्षर नगरेका हुन्। हस्ताक्षर नगर्नेमा विभागका स्ट्रक्चर इन्जिनियर, पुरुषोत्तम डंगोल, डिभिजनले इन्जिनियर, सम्पत घिमिरे, पुरातत्त्व अधिकृत, रामबहादुर कुँवर रहेका छन्।
प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिवेदनले औंल्याएका विषय विश्लेषण तथा थप अध्ययन गरेर पुनर्निर्माणका विषयमा निर्णय गरिने जानकारी गराउनुभयो। आफू वडा अध्यक्ष रहँदा, रानीपोखरीका डिलमा रहेका संरचना हटाउन अग्रसरता लिएको र महानगरीय प्रहरी आयुक्तको कार्यालय निर्माण गर्ने निर्णयको विपक्षमा उभिएको विगत स्मरण गर्दै प्रमुख शाक्यले व्यक्तिगत र संस्थागत निर्णयको फरक छुट््याउन समाचारकर्मीलाई आग्रह गर्नुभयो।
‘रानीपोखरीभित्र कुनै पनि प्रकारका थप संरचना बनाउन महानगरले निर्णय गरेको थिएन। पोखरी बाहिर शान्ति वाटिकातर्फको भागमा आधुनिक शौचालय र कफी सप सञ्चालन गर्ने विषयमा छलफल भएको हो, निर्णय भएको होइन’, मेयर शाक्यले भन्नुभयो– ‘महानगरलाई कति पैसा चाहियो हामी दिन्छौं भन्ने आवाज पनि सुनिए। हामीले यसलाई सञ्चालन गर्न समस्या नहोस् भन्न खोजेका हौं।’
यसअघि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय तथा सरोकारवालाले उठाएका सवाल समेटिने गरी समितिले महानगरलाई तीन चरणका काम गर्न तथा दीर्घकालीन संरक्षणको योजना बनाउन सिफारिस गरेको छ। रानीपोखरीलाई मल्लकालीन शैली, स्वरूप र निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गर्ने सम्बन्धमा अध्ययन गर्न माघ १३ गते महानगरले, पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की संयोजक र महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्मा सदस्य–सचिव रहेको ११ सदस्यीय विशेषज्ञ समिति गठन गरेको थियो।
समितिले गरेको पहिलो सिफारिसमा रानीपोखरीलाई शिखर शैलीमा पुनर्निर्माण गर्नुपर्ने, पुरातात्विक विषयको थप अध्ययन गर्न विशेषज्ञ समिति गठन गर्नुपर्ने, पोखरीको पानीको स्थायित्वका लागि पानीविज्ञको समिति गठन गर्नुपर्ने, तत्काल लागत स्टमेट गरी पुनर्निर्माण थालिनुपर्ने लगायतका सुझाव प्रतिवेदनमा पेस गरिएको छ। समितिले पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको फाउन्डेसनको अध्ययन गरिनुपर्ने र मन्दिर प्रवेश गर्दा बनाइएको पुल भत्काएर पुरानै शैलीमा निर्माण गर्नुपर्ने, मल्लकालीन अवस्थामा सोरहाते गणेशलगायतका अन्य मन्दिर रानीपोखरीको परिसरभित्र परेकाले ती सबै संरचना पोखरीको परिसरभित्र पार्नुपर्ने प्रतिवेदमा उल्लेख गरिएको छ।
त्यसै गरी वरिपरि निर्माण भएका संरचना तत्काल भत्काउनुपर्ने, पोखरीमा पानी जम्मा गर्न विभिन्न स्थानमा निर्माण गरिएका पुराना धाराहरूको उत्खनन् गर्नुपर्ने, प्रताप मल्लको परिवारसहितको सेतो हात्तीलाई पुरानै संरचनाअनुसार रंगरोगन र पुनर्निर्माण गर्नुपर्ने, मौलिक स्वरूप र मन्दिरको संवेदनशीलतालाई ध्यानमा राख्दै वरिपरि फलामको बार हटाएर पुरानै शैलीमा बनाउनुपर्नेलगायतका सुझाव प्रतिवेदनमा उल्लेख गरिएको छ। दीर्घकालीन योजनाअनुसार सौन्दर्यीकरणका लागि थप योजना निर्माण गर्नुपर्ने, पोखरीमा कृतिम पानीको व्यवस्थापन गर्नुपर्ने, पानी शुद्धताका लागि समयसमयमा परीक्षणको व्यवस्था गर्नुपर्ने, प्राकृतिक सुरक्षाका लागि पोखरीमा माछा र राजहाँस पालन गर्नुपर्ने, हात्तीसँगै रहेको शिव मन्दिर पुनर्निर्माण गर्नुपर्नेलगायतका सिफारिस गरिएको छ।