चर्चाको शिखर चुम्दै रमिला



लोकसंगीत नेपालको मौलिक संगीतमात्र नभएर अब यो विधाबिना नेपाली समाज नै अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको छ। नेपाली लोकसंगीतले आम नेपालीलाई मन्त्रमुक्त मात्र पारेको छैन, यस क्षेत्रमा लाग्नेहरूलाई कला र गलालाई महत्व दिएको छ।

पछिल्लो समय लोकसंगीतमा लाग्ने र शिखरमा पुग्नेहरूको संख्या उल्लेख्य नै रहेको छ। पछिल्लो समय लोकसंगीतमा लागेर चर्चाको शिखरमा पुगेकी छिन् सिन्धुपाल्चोकको तत्कालीन बाडेगाउँ गाविस–३ मा बुबा कृष्णलोचन न्यौपाने र सान्नानी न्यौपानकी कान्छी छोरीको रूपमा जन्मिएकी रमिला न्यौपाने। सानै उमेरदेखि लोकसंगीतमा रमाउँदै आएकी रमिला अहिले चल्तीकी गायिकाका रूपमा स्थापित भएकी छिन्। २ दाजुभाइ र ५ दिदीबहिनीकी कान्छी छोरीको रूपमा जन्मिएकी न्यौपाने घर परिवारमा अन्य दाजुभाइ दिदीबहिनीभन्दा भिन्न क्षेत्र कला संगीतलाई रोजेर पनि लोकप्रियताको शिखरमा पुगेकी छिन्।

स्कुले जीवनदेखि नै गीतसंगीतलाई पछ्याउँदै आएकी न्यौपानेले उच्च शिक्षा अध्ययन गर्ने क्रममा राजधानी प्रवेशसँगै लोक कलासंगीतलाई व्यवसायिकरूपमा अँगाल्न पुगेकी थिइन्। लोक गायन मात्र होइन उनले आफूलाई संगीतमा समेत निखार्दै लगिन्। रमिला भन्छिन्– ‘राजधानी प्रवेश गर्दा गीतसंगीतलाई नै पेसा बनाउँछु भन्ने सोचमा थिइनँ, तर अहिले यसलाई पेसा र व्यवसायको रूपमा अँगाल्न पुगेकी छु।

अब गीतसंगीत भनेको मेरो जीवनको एउटा पाटो नै भइसक्यो, यो भएन भने अब जीवन अगाडि बढाउन पनि सक्दिन होला।’ ‘आफ्ना आमाबुबा र घर परिवारको पूर्ण सहयोगले मात्रै म आज रमिला न्यौपाने भएकी छु। यदि घरपरिवारबाट सहयोग नपाएको भए यो अवस्थामा आइपुग्ने थिइनँ– उनले भनिन्।

अविवाहित न्यौपाने अझै पनि गीतसंगीत क्षेत्रमा केही योगदान दिएपछि मात्रै विवाहका बारेमा सोच्ने बताउँछिन्।१४ वटा लोकसंगीतका एल्बम बजारमा ल्याइसकेकी न्यौपानेको सबैभन्दा हिट गीत भनेको मत आउँदिन है कालु हो। यस गीतले न्यौपानेलाई मुलुकभित्र मात्र चर्चित नबनाएर विश्वका विभिन्न भागमा छरिएर रहेका नेपालीको बीचमा समेत लोकप्रियताले शिखर चुमाएको थियो।

मेड इन नेपाल, झन्–झन् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउने, नराम्ररी फसें, फेसबुकमा फोटो, आउ–आउ माया, सिस्नुपानीलगायतका एल्बममा स्वर दिएकी न्यौपानेले स्वदेशका अधिकांश स्थानमा आफ्नो प्रस्तुति दिइसकेकी छिन्। उनको माग स्वदेशमा मात्र होइन विदेशमा पनि उत्तिकै रहेको छ।

उनले बेलायत, जापान, अस्ट्रेलिया, रसिया, दुबई, कतार, थाइल्यान्ड, बहराइन र भारतलगायत एक दर्जनभन्दा बढी मुलुकमा आफ्नो कला प्रस्तुत गरेकी छिन्। गायिका न्यौपाने भन्छिन्– ‘अझै यो लोक कला र संस्कृतिलाई जर्गेना गर्न लागि पर्नेछु।’ सुरिलो स्वरको धनी गायिका न्यौपानेले कला संस्कृतिमा देखिँदै गएको विकृतिलाई जरैदेखि उखेलेर नेपालको मौलिकपनका रूपमा रहेको लोकभाकालाई जोगाउन अब आउने नयाँ पुस्तालाई समेत सुझाव दिएकी छिन्।

उनले मुलुकका कुनाकन्दरामा नेपाली जनताले भोग्नुपरेका समस्यालाई गीतसंगीतको माध्यमबाट उजागर गरी राज्य सञ्चालकहरूलाई घचघच्याउने प्रयाससमेत गरेकी छन्। उनी भन्छिन्– ‘गाउँघरमा आमा दिदी बहिनीहरूले भोग्ने समस्याका बारेमा गीतसंगीतको माध्यमबाट बहिर ल्याउन पाउँदा मन नै अनन्दित बन्ने गरेको छ।’

प्रतिक्रिया दिनुहोस्