गणेश घिमिरे, इलाम ।
स्थानीय तह चुनावपछि सामान्य संयोजनकारी भूमिकामा खुम्चिएको जिल्ला समन्वय समिति (जिसस) का कर्मचारीलाई कामको जिम्मेवारी नतोकिएकाले दिन कटाउनै मुस्किल हुन थालेको छ । जिससमा अहिले आठजनाको दरबन्दि कायम भएपनि कायम भएपनि निजामती, स्थानीय विकास र साविक जिविसका कर्मचारी सहित १७ जना कर्मचारी कार्यरत छन् ।
स्थानीय शासन सञ्चालन ऐनले स्थानीय तहलाई स्वायत्त बनाई जिससको भूमिकालाई खुम्च्याएपछि जिम्मेवारी विहीन जस्तै भएको जिल्ला समन्वय अधिकारी झरेन्द्र चापागाइँले बताए । स्थानीय निकायबाट नियुक्ति पाएर कार्यक्रम हेर्ने कति कर्मचारी आएका छैनन्, आएका कर्मचारी पनि काम बिहिन् जस्तै बनेका छन् । ‘प्रदेशसभा गठन र प्रदेश कानुन नभएको अवस्थामा कर्मचारीहरु भूमिका बिहन् नै बने’ चापागाइँले भने, ‘अघिल्ला वर्षका क्रमागत ४÷५ वटा योजनाबाहेक अहिले कुनै कार्यक्रम नहुँदा पटयारलाग्दो भएको बनेको छ ।’ जिससलाई संविधानले स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वय र स्थानीय तहका योजना अनुगमनको भूमिकामा सीमित गरेको छ ।
तर, स्थानीय शासन सञ्चालन ऐनले जिससलाई सामाजिक सुरक्षा, आन्तरिक आय, स्थानीय तहका विकास योजना अनुगमन गर्ने अधिकार भने दिएको छ । जिससमा निजामतितर्फ आठजना कर्मचारीको दरबन्दि भएपनि हाल तीनजना कर्मचारी मात्र कार्यरत छन् । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट लेखापाल काजमा छन्, भने प्राबिधिक तर्फको दरबन्दि पनि खालि छ । तर स्थानीय बिकास तर्फका ६ जना कर्मचारी भने कार्यरत नै रहेको जनाइएको छ ।
‘सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा भइसकेर रमाना लिएर गइसकेको बताउँदै आएको छ’, चापागाइँ भन्छन्–‘तर सरुवा भएर आउने कर्मचारी हालसम्म रमाना लिएर कार्यालयमा आइपुगेका छैनन् ।’ चापागाइँका अनुसार साविक जिल्ला बिकास समितिका आठजना कर्मचारी पनि कार्यरत छन् । उनीहरुलाई स्थानीय निकायमा पठाउनका लागि स्थानीय तहको कर्मचारी संरचना नबनेको र कामको जिम्मेवारी नतोकिँदा समायोजन गर्न नसकेको बताइएको छ । शाखा अधिकृत लगायत पदका कर्मचारीलाई वडा कार्यलयमा नासु तथा खरदारको कामकाज गर्न पठाउन सकिने अवस्था नभएको हुँदा साबिक जिविसका आठ कर्मचारी पनि जिससमा कार्यरत रहेका हुन् । स्थानीय तहको कर्मचारी संरचना बन्नसाथ ती कर्मचारी पनि समायोजन हुने बताइएको छ ।
एकातिर जिससमा डेढ दर्जन कर्मचारी जिम्मेवारी नहुँदा कामविहीन छन्, अर्कातिर अधिकांश स्थानीय तहमा कर्मचारी अभाव छ । गाउँपालिकाहरूमा लेखापाल र प्राविधिकका दरबन्दी अनुसार कर्मचारी नहुँदा काम प्रभावित बन्दै गएका छन् ।
जिससमा रहेका कतिपय पद र दरबन्दी गाउँपालिका, नगरपालिकामा नभएकाले कर्मचारी ब्यवस्थापनमा समस्या भएको हो । चार नगरपालिका, ६ वटा गाउँपालिका र ८१ वटा वडा रहेको इलाममा अझैपनि २८ वटा वडामा खरीदार र नासु स्तरका कर्मचारी नै छैनन् । कर्मचारी अभावमा वडा सचिब आफैले सबै काम भ्याइरहेको र दुईवटा वडा सम्मको काम गर्न बाध्य भइरहेका छन् । गाउँपालिका तथा नगरपालिकामा पनि आवश्यक मात्रामा कर्मचारी पूर्ती हुन सकिरहेको छैन ।











प्रतिक्रिया