सुरेश तामाङ, काठमाडौं
काठमाडौं उपत्यकाका विभिन्न सडकमा देखिने सडक बालबालिका हिजोआज रातिको समयमा मात्रै देखिन थालेका छन्।
दिउँसो सडकमा देखिँदा प्रहरीले समात्ने डरले बेलुकीपख अबेरसम्म देखिन थालेका हुन्। उनीहरू रातको ९ बजेदेखि २⁄३ बजेसम्म शहरका विभिन्न स्थानमा देखिने गरेका बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ। यी बालबालिका राति देखिन थालेपछि केन्द्रले पनि आफ्नो सक्रियता राति नै बढाउन थालेको सो केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारी बताउनुहुन्छ।
केन्द्रले गएको पौष ७ गते राति शहरका विभिन्न स्थानमा देखिएका १५ जना सडक बालबालिकाको उद्धार गरेको थियो, जसमा १५ वर्ष उमेर समूहका ४ जना बालिकासमेत थिए।
‘सडक बालबालिका प्रायःजसो दिउँसो मात्रै देखिँदा केन्द्रको प्रहरीले उठाउँथ्यो। परिवारमा पुर्याइसकेपछि पनि ती बालबालिका प्रायः सडकमै फर्किने क्रम दोहोरिरह्यो’, उहाँ भन्नुहुन्छ– ‘पटक–पटक सडकमा आइरहने सडक बालबालिकालाई पछ्याउँदै जाँदा रातको समयमा मात्रै देखिएपछि सक्रियता बढाएका हौं।’
यी बालबालिकाले दिउँसोभन्दा राति उच्छृङ्खल व्यवहार देखाउने गरेको पाइएकाले केन्द्रले विशेष ध्यान दिई राति गस्ती बढाएर उनीहरूको उद्धार गर्ने गरेको अधिकृत अधिकारीको भनाइ छ। १५⁄१६ वर्षजतिका देखिने सडक बालबालिका नसाले लठ्ठिएर यौन क्रियाकलापमा लिप्त भइरहेको अवस्थामा केन्द्रले उद्धार गरेको हो। उनीहरूलाई पुनस्र्थापना केन्द्रमा पठाएर उपचार गराइएको केन्द्रले जनाएको छ।
केन्द्रका अधिकृत अधिकारीका अनुसार सडक बालबालिकाले प्रायः दिउँसो डेन्ड्राइड् सुँघ्दै लठ्ठिएर हिँडेको पाइन्थ्यो। तर २⁄३ वर्ष पहिले सडकको पेटी र फोहोरको डंगुरमा सुत्ने सडक बालबालिका अहिले रातको समयमा विदेशी पर्यटकको चहलपहल हुने स्थानहरू ठमेल, दरबारमार्ग, स्वयम्भू, बौद्धजस्ता स्थानमा पर्यटकसँग पैसा माग्दै हिँड्ने गरेको केन्द्रले जनाएको छ। यी बालबालिका पशुपति, बालाजु, कलंकीमा पनि रातको समयमा बढी सक्रिय देखिएको केन्द्रको दाबी छ।
केन्द्रीय बाल कल्याण समितिको सहकार्यमा बालबालिका खोजतलास समन्वय केन्द्रले २०६३ देखि ‘सडकमा बालबालिका बस्नुपर्दैन र सडकमा बालबालिका बस्न पाइँदैन’ भन्ने अभियानमा निरन्तरता दिएको छ। केन्द्रका प्रहरी, कर्मचारी, स्वयंसेवकलगायतले सडक बालबालिकालाई यसै अभियानमार्फत् उठाउँदै बाल गृहमा राख्ने, परिवारसँग पुनर्मिलन गराउने, सीप सिकाउने गर्दै आइरहेका छन्।
केन्द्रले हालसम्म तीन वर्षदेखि १८ वर्ष उमेर समूहका ७ सय ३६ जना सडक बालबालिकाको उद्धार गरेको छ, जसमा ७० जना बालिका छन्। केन्द्रले ५ वर्षभन्दा माथिका अधिकांश बालबालिका लागूऔषधको दुव्र्यसनीमा फस्ने गरेको जनाएको छ।
दिउँसोको समय भारतीय सडक बालबालिका धेरै काठमाडौं उपत्यकाका अति व्यस्त स्थानमा भारतीय सडक बालबालिका धेरै देखिन थालेका छन्। उनीहरू प्रायःजसो फर्जी कागजात देखाउँदै पैसा माग्दै हिँड्ने अवस्थामा अभिभावकसहित देखिने केन्द्रले जनायो। केन्द्रले अति व्यस्त हुने शहरका विभिन्न ठाउँको पहिचान गरी ५२ बालक, ४५ बालिका र २६ अभिभावक फर्जी कागजात देखाउँदै पैसा माग्दै हिँड्ने गरेको विवरण उतारेको छ।
केशरमहल, दरबारमार्ग, सुन्धारा, पुरानो बसपार्क, गौशाला पशुपति, एयरपोर्ट क्षेत्र, कोटेश्वर, जावलाखेल, कलंकी, स्वयम्भू, थापाथली पुल, नयाँबसपार्क (बालाजु), बल्खु सुकुम्बासी बस्ती र लोकन्थलीको सुकुम्बासी बस्तीमा धेरै जसो भारतीय सडक बालबालिका तथा तिनका अभिभावकसहित पैसा माग्दै हिँड्ने गरेका छन्।











प्रतिक्रिया