ओली–प्रचण्ड भेट, सरकार गठन कसैले रोक्न सक्दैन



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता र नयाँ सरकार गठनको विषयमा गम्भीर परामर्श भएको छ।

ओली र प्रचण्डबीच पार्टी एकता, शक्तिको बाँडफाँड तथा राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेशबारे देखिएको फरक धारणामा एकरूपता ल्याउने विषयमा छलफल भएको बताइएको छ। निर्वाचनलगत्तै पार्टी एकता गर्ने प्रतिबद्धतासहित निर्वाचनमा चुनावी तालमेल गरेका एमाले र माओवादी केन्द्रबीच निर्वाचनको परिणाम आएपछि एकीकरण प्रक्रिया अगाडि बढाउनेभन्दा पनि नयाँ सरकारले प्राथमिकता पाएको छ।
करिब दुई सातासम्म दुई पार्टीका अध्यक्षबीच परामर्श नहुँदा आशंका र अन्योल उत्पन्न भएपछि बुधबार ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो। दुई शीर्ष नेताबीचको वार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रियसभा सदस्य निर्वाचनका बारेमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो।

पार्टी एकताका लागि एमाले र माओवादी केन्द्र तयार भए पनि शक्ति बाँडफाँडमा कुरा मिल्न सकेको छैन। पार्टी एकीकरणपछि सरकारको नेतृत्व एमाले अध्यक्ष ओली र पार्टीको नेतृत्व प्रचण्डले गर्नुपर्ने अडान माओवादी केन्द्रले राखेको छ। तर एमालेले भने सरकार र पार्टीको नेतृत्व एउटै व्यक्तिले गर्नुपर्ने अडान लिँदै आएको छ। जसका कारण दुई दलबीच पार्टी एकीकरणमा अन्योल देखिएको छ।

बैठकमा पार्टी एकता संयोजन समितिको बैठक तत्काल बोलाउने विषयमा दुई नेताबीच सहमति जुटेको छ। सो समितिमा एमालेका अध्यक्षसहित चार र माओवादीका अध्यक्षसहित तीन जना नेता छन्। गत कात्तिक १५ गतेपछि पार्टी एकता संयोजन समितिको अर्को बैठक बस्न सकेको छैन। राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा सहमति जुटाउने बारेमा छलफल भए पनि सहमति जुट्न नसकेको बताइएको छ।
कांग्रेसले एकल संक्रमणीय प्रणालीबाटै राष्ट्रियसभा निर्वाचन हुनुपर्ने अडान राखिरहेका बेला एमालेले बहुमतीय प्रणाली हुनुपर्ने बताउँदै आएको छ। तर माओवादी केन्द्रले भने मध्यमार्गी बाटो अपनाउनुपर्ने धारणा राख्दै आएको छ। ओलीका प्रेस संयोजक अधिकारीले राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेशमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

भेटमा ओली र प्रचण्डबीच पार्टी एकतालाई प्रभावित पार्ने गरी दुवै पार्टीका नेताहरूबाट आएको अभिव्यक्तिको बारेमा समेत समीक्षा भएको थियो। कात्तिक १७ गते भएको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने ६ बुँदे सहमतिमा पार्टी एकतालाई असर गर्ने कुनै पनि अभिव्यक्ति नदिने सहमति भएको थियो।

प्रचण्डका प्रेस संयोजक मनहरि तिम्सिनाले दुई अध्यक्षबीच पार्टी एकता, सरकार गठन, राष्ट्रियसभा अध्यादेशलगायतका विषयमा गम्भीर रूपमा छलफल भएको जानकारी दिनुभयो। जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्नेमा छलफल भएको उल्लेख गर्दै उहाँले निर्वाचन आयोगले पनि नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने जोड दिएको बताउनुभयो। ‘दुई अध्यक्षबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ।’ –तिम्सिनाले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्