‘बेपत्तालाई मृतक घोषणा’



कुमार श्रेष्ठ, बाँके
बेपत्ता छानबिन आयोगले बेपत्ता व्यक्तिलाई ‘मृतक’को सूचीमा राख्दै घरपरिवारमा पत्र पठाएको छ। बेपत्ता पारिएका आफ्ना व्यक्तिको लास कि सासको माग गर्दै आन्दोलन गरिरहेका बेपत्ता परिवारको घरमा एक्कासि आयोगबाट ‘मृतक’मा सूचीकृत गरिएको भन्ने पत्र आएपछि उनीहरू आक्रोशित भएका छन्।

बाँकेमा ६ जना बेपत्ता परिवारको घरमा ‘मृतक सूचीकृत गरिएको’ पत्र आएको छ। आयोगले त्यस्तो पत्र हुलाकबाट पठाइदिएको छ। २०५६ सालमा काम विशेषले बर्दिया गएका बेलादेखि बेपत्ता पारिएका ढाकाराम पाठकको घरमा मृतक सूचीकृत गरिएको पत्र आएको छ।

श्रीमान्को ‘लास कि सास’ माग्दै आन्दोलन गरिरहेकी श्रीमती खेनुमाया पाठक यतिबेला स्तब्ध बन्नुभएको छ। ‘मृतकमा सूचीकृत गरिएको हो भने आयोगले हामीलाई कसले, कहाँ लगेर मारेको हो, लास देखाउनुपर्यो।’ –श्रीमती पाठकले भन्नुभयो।

न्यायका लागि द्वन्द्वपीडित समाज, बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेतीले वनकटवामा ३, कोहलपुरमा १ र राप्तीपारीका २ जना बेपत्ताको घरमा आयोगले मृतक सूचीकृत गरेको पत्र आएको जानकारी दिनुभयो।

आयोगले ‘इन्सेकको द्वन्द्वपीडित पाश्र्वचित्र’लाई आधार मानेर बेपत्तालाई मृतकको सूचीमा राखेको छ। आयोगका शाखा अधिकृत भीमराज गौलीले हस्ताक्षर गरेको पत्र पीडितको घरमा आइपुगेको छ।

बेपत्ता छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगले तीन वर्षमा खासै काम गर्न नसकेको भन्दै पीडितले आक्रोस पोखिरहेका बेलामा एक्कासि यस्तो पत्रमा घरमा आउँदा पीडितहरूले ‘लास देखाउन’ चेतावनी दिएका छन्। ‘त्यसै मरेको भन्न पाइन्छ? आयोगले लास देखाउनुपर्छ’, न्यायका लागि द्वन्द्वपीडित समाज बाँकेकी अध्यक्ष उप्रेतीले भन्नुभयो– ‘के, कति कारणबाट कहिले, कसले मारेको हो, आयोगले जवाफ दिनुपर्छ।’

सरकारले शान्ति समिति गठन गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट राहत दिन शुरुआत गर्दा केही बेपत्ता परिवारले मृतकको फाराम भरेका थिए। ‘मृतक’ नभन्दा राहत नपाउने अवस्थामा त्यस्तो गरिएको थियो। यसलाई पनि आयोगले आधार मानेको देखिन्छ। मृतक भनेर सूचीकृत गरिएका अधिकांशले शुरुआती चरणमा राहतका लागि मृतक भनेर फाराम भरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्