तीनदिने घुम्ती प्रशिक्षण कार्यक्रम सम्पन्न



नेपाल समाचारपत्र
भक्तपुर
नेपाली कांग्रेस जिल्ला युवा परिचालन समिति भक्तपुरको आयोजनामा तीनदिने घुम्ती प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कांग्रेस संगठन विकासमा युवा अभियानअन्तर्गत पुस ७ गतेदेखि ९ गतेसम्म कार्यक्रम भएको थियो।

सर्वमान्य नेता स्व. गणेशमान सिंहको तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीबाट पुस ७ गते शुरू भएको प्रशिक्षण पुस ९ गते कास्कीको बेगनास तालमा पुगेर सम्पन्न भएको हो।

युवा परिचालन समिति भक्तपुर तथा घुम्ती प्रशिक्षण कार्यक्रमका संयोजक अष्टकुमार कवेंका अनुसार उक्त प्रशिक्षण चाक्सीबारी, धादिङको बैरेनी, कास्कीको पोखरा, कास्कीकै पामे र कास्कीकै बेगनास तालमा करिब १ सय ५० जनाको युवाको सहभागितामा सम्पन्न भएको हो।

प्र्रशिक्षण कार्यक्रममा संयोजक कवेंले निर्वाचनको परिणामपछि निराश भएको कांग्रेस र कांग्रेसका युवाहरूलाई थप मनोबल प्रदान गरी आगामी निर्वाचनमा दुईतिहाई मत ल्याउने लक्ष्यअनुसार सो प्रशिक्षण गरिएको बताए।

कांग्रेसले अब आफ्नो संगठन बलियो बनाउन र युवाहरूको सहभागीताका लागि यस्तो अभियान देशैभरि चलाउनुपर्ने बताउँदै यसरी अभियानकै रूपमा अघि बढेको अवस्थामा आगामी निर्वाचनमा कांग्रेसले दुईतिहाई ल्याउने उनले दाबीसमेत गरेका छन्।

यसै समितिको आयोजनामा केही सातापछि भक्तपुरका ४ वटै नगरपालिकाअन्तर्गतका प्रत्येक वडाबाट ५ जना महिलाको सहभागितामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए। तीनदिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा हरिश आचार्य, राजीव खनाल र प्रवीण अग्रहरीले प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया दिनुहोस्