एकैपटक पाँच पुस्तक सार्वजनिक



काभ्रे, (नेस)
जनमत साहित्यिक बाटिकाले शनिबार बनेपामा एक कार्यक्रमको आयोजना गरि एकैपटक पाँच वटा पुस्तक सार्वजनिक गरेको छ। चार श्रष्टाका पाँच वटा कविता र एक मुक्तक संग्रह सार्वजनिक गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. रामप्रसाद ज्ञवालीले साहित्यकार तथा कवि भनेका समाजका आँखा भएकाले अनुभवका आधारमा साहित्य सिर्जना फरक–फरक ढंगबाट प्रस्तुत गरी समाजलाई परिमार्जन गर्न सक्नुपर्छ भन्नुभयो। उहाँले भन्नुभयो– ‘कवितामा व्यंग्य र ध्वनि समेटिएको हुन्छ र कविताको एउटै पंक्तिले धेरै कुरा समेट्नुनै ध्वनि हो।’

साहित्यका क्षेत्रमा आफूलाई प्रभावित गर्ने वरिष्ठ साहित्यकार मोहन दुवालाई गुरु मान्दै यात्रा शुरु गरेको बताउँदै उहाँले आफूले समयको सदुपयोग तत्काल गर भोलि हैन भन्ने पाठ सिकेको बताउनुभयो। उहाँले नयाँ श्रष्टा कमल कुइँकेल, कृष्णकुमार दाहाल, सोमकाजी शाक्यद्वारा लिखित कविता र मुक्तक अनावरण गर्नुभयो।

सोही अवसरमा जनमत साहित्य प्रतिष्ठानका केदार नारायण मानन्धरले बाल साहित्यका क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई जनमत केदार सुलोचना बाल साहित्य सम्मानका लागि पुरस्कार राशी तय गर्न अक्षयकोष स्थापनार्थ १ लाखको चेक जनमत मासिकका संस्थापक सम्पादक मोहन दुवाललाई हस्तान्तरण गर्नुभयो। जनमतले मोहन विक्रम विशेष निकाली सकेको र अबका दिनमा मोहन वैद्य, प्रदीप ज्ञवाली, प्रदीप नेपाल, मोदनाथ प्रसित, नरहरि आचार्यलगायतको लेखनकृति समेटेर विशेषांक निकाल्दै गरेको जानकारी गराउनुभयो।

जनमत बाटिकाका संयोजक तथा साहित्यकार सूर्य लाकजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरेश श्रेष्ठले गीत प्रस्तुत गर्नुभएको थियो भने श्रष्टाहरूले प्रकाशित पुस्तकका एक–एक कविता र मुक्तक सुनाउनुभएको थियो। सोही अवसरमा कार्यक्रममा विशेष अतिथि भुवनहरि सिग्देल, संस्कृतविद् ज्ञानकाजी मानन्धरलगायतले साहित्यको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्