बस्नेतलाई धक्का, पशुपतिको “इन्डिङ”



नानीराम नेपाल, सिन्धुपाल्चोक
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ। जिल्लाका २ प्रतिनिधिसभा क्षेत्र र ३ प्रदेशसभामा वाम गठबन्धनले बाजी मारेको छ भने एक प्रदेशसभा क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले बाजी मारेको छ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ मा लोकतान्त्रिकले बाजी मार्यो, अरू सबैमा वामले बर्चस्व जमाएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले नयाँ अनुहारहरूलाई संसद्मा प्रवेशको अवसर दिलाएको छ। तर यो निर्वाचनले केही व्यक्तिको राजनीतिक यात्रामा ‘ब्रेक’ लगाइदिएको छ भने कसैको त राजनीति नै टुंग्याइदिएको छ। पछिल्लो जनमतबाट संसदीय राजनीतिमा कोही उदाएका छन् त कोही अस्ताएका छन्।

यसरी टुंगियो पशुपति शमशेरको राजनीति
पशुपति शमशेर राणा, सिन्धुपाल्चोकका लागि एउटा परिचित नाम हो। कुनै जमाना थियो, पशुपति शमशेरसँग चुनाव लड्ने आँटसम्म थिएन कसैसँग। तर दशकौंसम्म सिन्धुपाल्चोकबाट निर्वाचन जितेका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको राजनीति अब सिन्धुपाल्चोकबाटै टुंगिएको छ। एकातिर यसपटकको निर्वाचनमा राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले थ्रेस होल्ड कटाउन सकेन्, अर्कातिर राणाले हारको ह्याट्रिक चाखे। पटकपटक यही जिल्लाबाट जन अनुमोदित भएका उनी २०६४ को संविधानसभा निर्वाचनपछिको एक दशकका बीच ३ पटक चुनाव हारेका छन्। २०६४ मा तत्कालीन नेकपा माओवादीका उम्मेदवार दावा तामाङसँग पराजित भएका उनी २०७० को संविधानसभा निर्वाचनमा पनि उम्मेदवार बने अनि एमाले नेता शेरबहादुर तामाङसँग पराजित भए।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि २ नम्बर क्षेत्रमा उनै राणा र तामाङबीच प्रतिष्पर्धा भयो। वाम गठवन्धनका साझा उम्मेदवारका रूपमा शेरबहादुर तामाङ चुनावी मैदानमा देखिएपछि कांग्रेससँग गठबन्धन गरी राणा चुनावमा होमिएका थिए। ‘अन्तिम पटक’ भन्दै मतदाताकामा पुगेका उनी यसपटक पनि तामाङसँग पराजित भए। वाम उम्मेदवार तामाङले ३८ हजार ४ सय १ मत प्राप्त गरी विजयी हुँदा राणाले ३० हजार ३ सय ६९ मत प्राप्त गरे। एक दशककाबीचमा लगातार ३ पटक पराजित भएसँगै सिन्धुपाल्चोकमा राणाको राजनीति टुंगिएको छ। एक त उनलाई बुढ्यौलीले गाँजिसकेको छ, अर्कातिर लगातारका हारले आगामी निर्वाचनमा राणा अब सिन्धुपाल्चोक फर्कने छैनन्। राणाको ‘ह्याट्रिक हार’ ले उनको सिन्धु राजनीतिलाई ‘इन्डिङ’ गरिदिएको छ।

बस्नेतलाई धक्का
चुनावी ट्याक्टिसमा माहिर मानिने सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता मोहन बहादुर बस्नेतको ‘ट्याक्टिस’ यसपटकको निर्वाचनमा फेल खायो। २०७० को संविधानसभा निर्वाचनपछि कांग्रेसको आन्तिरक राजनीतिमा बलशाली बन्दै आएका बस्नेतको राजनीतिक यात्रामा यो निर्वाचनले ‘ब्रेक’ लगाइदिएको छ।

उम्मेदवारी दर्ता हुनु अगावैदेखि सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रमा आफ्नो जित सहज भएको दाबी गर्दै आएका उनी प्रतिनिधिसभा निर्वाचनमा वाम गठवन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटासँग पराजित भएका छन्। यसअघि २ अंकको झिनो मतान्तरमा विजयी भएका बस्नेत यसपटक १० हजारभन्दा बढीको मतान्तरमा पराजित भए। सापकोटाले ४० हजार ५ सय ४ मत प्राप्त गरे भने बस्नेतले २९ हजार ७ सय ५८ मत पाए। २०६४ को निर्वाचनमा ७ हजार मतमा सीमित भएका बस्नेत २०७० को संविधानसभा निर्वाचनमा १५ हजार मत ल्याई एमाले नेता अरूण नेपालसँग ३२ भोटले विजयी भएका थिए। २०६० को दशकयता राजनीतिमा कमजोर बन्दै आएका उनी पछिल्लो संविधानसभा निर्वाचनामा विजयी भएसँगै एकाएक उदाए। सिन्धुपाल्चोकमा चुनाव जितेकै कारण उनले पार्टी केन्द्रीय सदस्यको दाबी गरे अनि जिते पनि। हक्की स्वभावका बस्नेतले पछिल्लोपटक मन्त्रिपरिषद्मा नै प्रवेश पाए। शेरबहादुर देउवा नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री मात्र बनेनन्, सरकारका प्रवक्ता नै बने।

पछिल्लो ४ वर्षयता कांग्रेसको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिमा अस्वभाविक ‘पिकअप’ लिएका उनको राजनीतिक जीवनमा ‘पिक डाउन’ शुरू भएको छ। एकाएक शक्तिमा उदाएका उनका लागि यो निर्वाचन अग्निपरीक्षा बनेर खडा भयो। उनी आफ्नो राजनीतिक जीवनको यो अग्नि परीक्षामा असफल भए। सत्ता शक्तिमा आसिन भएका बेला पनि बस्नेतले निर्वाचनमा दश हजारभन्दा बढी मतान्तरमा हार व्यहोर्नुपर्यो। शक्तिमा रहँदासमेत निर्वाचन हारेका बस्नेतका लागि अब आगामी चुनावहरूमा जित निकाल्न कठिन प्रायः देखिन्छ। २०५६ मा संसदीय चुनाव जितेर राज्यमन्त्री बनेका बस्नेत २०७० मा चुनाव जितेर फुल मन्त्री बने।

प्रतिक्रिया दिनुहोस्