मान्छे उनै हुन्– उहिले प्रौढ कक्षा पढ्थे अहिले सरसफाई कक्षा पढ्छन्



धनवीर दाहाल, रुकुम । चौरजहारी नगरपालिका ८ की प्रेमकुमारी मल्ल कुनै बेला प्रौढ कक्षाकी बिद्यार्थी थिइन् । उनलाई उनको परिवार लगाएत छिमेकीले पनि प्रौढ पढ्नुपर्छ भनेपछि साथीहरुसँगै साँझ बिहान चौतारीमा प्रौढ पढ्न जान्थीन । प्रेमकुमारी मात्र होइन उनका धेरै साथीहरु प्रौढ कक्षामा सहभागी भएर शिक्षा लिइरहेका थिए । कुनै बेला यस्तो समय थियो गाँउ गाँउमा अधिकांश अधबैंसे देखी बृद्धबृद्धा सम्मले प्रौढ शिक्षा पढिरहेका हुन्थे तर अहिले जमना अनुसारको काम हुँदै छ । प्रौढ पढ्ने उनै मानिसहरु यतिबेला स्वास्थ्य र सरसफाईका कक्षा संचालन गरिरहेका छन् ।

उतिबेला साक्षर अभियानले अभियानकै रुप लिएको थियो भने यतिबेला सरसफाई अभियानले ठुलो रुप लिएको छ । चौरजहारी निवासी प्रेमकुमारी जस्तै अन्य स्थानिय पनि पुख्र्यौली कृषि खेती गर्दै आएका थिए । मल्लको गाँउले भन्दा ४ बर्ष पहिला जति बेला गाँउमा रुवाबासी चलेको थियो । कारण झाडा पखालाले गाँउलेको अकालमा ज्यान जाने गरेको थियो । सो समयमा गाँउमा सरसफाईको कुरा त के चर्पि समेत थिएन । स्थानीयहरु खुल्ला ठाँउमा दिसा पिसाव गर्दथ्थे । रुकुम र जाजरकोटमा झाडापखालाले ठुलो रुप लिएको बेला साविकको कोटजहारीमा हाल चौरजहारी नगरपालिका ८ मा पनि निकै ठुलो समस्या भएको थियो । त्यसपछि चर्पि निमार्ण र सरसफाई अभियानले तिब्र गति लिन थालेको हो । चर्पि निमार्ण भएसँगै त्यसको प्रयोग र सरसफाई सचेतनाका कुराहरु आवश्यक पर्ने भएपछि ग्रामिण खानेपानी कोष विकास समिती फण्डबोर्डको सहयोगमा छिमेकी संगठन नेपाल र ग्रामिण आधारभुत विकास परियोजनाले सरसफाई कक्षा संचालन गर्न थालेका हुन् । खानेपानी नभएको ठाँउहरुमा खानेपानी पुर्याउने काम पनि भइरहेको छ भने स्वास्थ्य र सरसफाईका कक्षाहरु पनि हरेक टोल टोलमा भइरहेको छिमेकी संगन नेपालका टिम लिडर मदन थापाले बताए ।

चौरजहारी ८ की स्थानीय प्रेमकुमारीले जव गाँउमा सबैको घरघरमा चर्पी बन्यो अनि आफुले पनि बनाएको र आजभोली सरसफाई कक्षामा सहभागी हुने गरेको बताइन् । उनी भन्छिन् “गाँउमा संस्थाले सरसफाईका कुराहरु सिकाएपछि म तथा हाम्रो परिवार सचेत बन्यो । आज भोली हाम्रो परिवारमा जुठ्यान, मज्यान, धुँवा रहित चुलो तथा व्यवस्थित मलखाद तथा गोठ व्यवस्थापन छ । मैले यि कुराहरु थाहै पाएको थिएन । जव हामीले सरसफाई शिक्षा पायौं । बिभिन्न समुहमा सहभागी भयौं र धेरै कुरा थाहा भयो । खास फोहरको कारण रोग लाग्ने कुरा थाहा भयो ।” यतिबेला प्रेमा कुमारी मल्ल यति बेला आफुले लिएको सरसफाई कक्षाबाट अरुलाई सिकाउने भएकी छन् । आफ्नो घर समाजमा धेरै कुरा सिकेर व्यवहारमा ल्याएपछि उनले हरेक बैठकहरुमा तथा छलफल कार्यक्रमहरुमा सबै भन्दा पहिला सरसफाईका कुराहरु भन्ने गर्दछिन् । आफ्नो परिवारलाई मात्र होइन समाजलाई समेत सरसफाईका कुरा सिकाउने भएकी छन् ।

कोटजहारीमा यतिबेला प्रेमा कुमारी जस्तै धेरै महिलाले आफु मात्र होइन अरुलाई समेत सरसफाई र स्वास्थ्यका कुरा सिकाउने भएका छन् । ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिती तथा नियो नेपालको मुख्य देन रहेको स्थानीयहरुको भनाई छ । ग्रामिण खानेपानी कोष विकास समितीको सहयोगमा नियो नेपाल र आरबिपीले कार्यक्रम संचालन गरेका रुकुम पश्चिमको चौरजहारी नगरपालिका (साविकको कोटजहारी र खोलागाँउ गाविस) र रुकुम पुर्वको सिस्ने गाँउपालिका र भुमे गाँउपालिका (साविकको रुकुमकोट गाविस) मा यति बेला स्वास्थ्य तथा सरसफाई कक्षाहरु संचालन भइरहेको ग्रामिण आधारभुत विकास परियोजना रुकुमका अध्यक्ष केशवचन्द्र समालले नेपालसमाचार पत्रलाई जानकारी दिए । हरेक बस्तीहरुमा सरसफाई अभियान्ता खटिएर ति कक्षाहरु संचालन भइरहेका छन् ।

यस्तै कोटजहारी गाविसका वडा नं ३ शसिराम के.सी आज भन्दा एक बर्ष पहिला चर्पीको प्रयोग गर्दथे तर अरु सरसफाईका बिषयमा त्यती ध्यान दिँदैनथे । उनले चर्पिको प्रयोग पनि उचित तरिकाले गरेका थिएनन् । जुठ्यान, मज्यान त कुरै छाडौं उनले सफा गरेका भाँडा राख्नको लागी सफा ठाँउ पनि बनाउन सकेका थिएनन् । जतिबेला फण्डबोर्डको आर्थिक सहयोगमा गत बर्ष नियो नेपाल र ग्रामिण आधारभुत विकास परियोजना रुकुमले स्वस्थ घर सर्वेक्षण समितीको अध्यक्षमा उनलाई चयन गर्ने अवसर प्राप्त भयो । अनि उनले जिम्मेवारी पाए । उनको जिम्मेवारीले स्वास्थ्य र सरसफाईका कुराहरु आफुले सिक्नुको साथै अरुलाई पनि सिकाउने काम गर्न थाले । त्यसपछि उनले आफ्नो घर आगन सफा राख्नुको साथै, वातावरणिय सरसफाईलाई पनि ध्यान दिन थाले । आज भोली उनको घरमा व्यस्थित चर्पि, जुठ्यान, मज्यान, व्यवस्थित मलखाद, छुट्टै गोठ रहेको छ । उनी दुई पटक सम्म स्वस्थ घर सर्वेक्षण गर्न हिडे । उनको घर यतिबेला हरियो स्टिकरमा परेको छ । उनी आजभोली हरेक ठाँउमा सरसफाईका कुरा सिकाउँदै हिड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्