महावीरको सहयोगमा दुर्गममा पुग्यो इन्टरनेट



नरेन्द्र केसी, दाङ । वायरलेस प्रविधिद्वारा देशको ग्रामिण क्षेत्रमा सूचना प्रबाह गर्ने सफल व्यक्तिको पहिचान बनाएका महावीर पुनको प्राविधिक सहयोगमा पूर्वी रुकुमको विकट गाउँमा इन्टरनेट जडान गरिएको छ । झण्डै तीन महिनाअघिदेखि इन्टरनेट जडानको प्रयास गरिए पनि बल्ल यो प्रविधि सफल भएको छ ।
भूमे गाउँपालिकाको लगानी र पहलमा गाउँपालिका कार्यालयमा इन्टरनेट जडान गरिएको छ । नेपाल टेलिकमको एडीएसएल प्रविधिबाटै इन्टरनेट पु¥याइए पनि ल्याण्डलाइन फोन नपुगेकाले डाँडाहरुमा डिभाइस राखेर रिले गर्दै भूमे गाउँपालिकाको कार्यालयसम्म इन्टरनेट पु¥याइएको छ ।
‘पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटसम्म ल्याण्डलाइन फोन पुगेको छ’– भूमे गाउँपालिकाका कार्यकारी अधिकृत चन्द्रसिंह श्रेष्ठले भन्नुभयो– ‘त्यहाँदेखि विभिन्न स्थानमा रेडियो डिभाइसमार्फत रिले गरेर इन्टरनेट जडान गर्न सफल भयौं ।’ इन्टरनेटका लागि एउटा डिभाइ रुकुमकोटै राखिएको छ भने अर्को भिडाइस महतको थामै लेकमा राखिएको छ । प्रविधि पुगे पनि नेट सञ्चालन गर्न समस्या भइरहेको बेला महावीर पुन आफैले फोनमार्फत प्रत्यक्ष निर्देशन दिएपछि नेट जडान गर्न सफल भएको श्रेष्ठले जानकारी दिनुभयो ।
प्राविधि खर्च दिन बाँकी रहेकाले अन्तिम खर्च आउन कति लाग्छ भन्ने एकिन नभए पनि अहिलेसम्म डिभाइसका लागि मात्रै झण्डै तीन लाख खर्च भइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले केही महिनाअघि इन्टरनेट विस्तारका लागि झण्डै दश लाख बजेट छुट्याएर निजी क्षेत्रका इन्टरेनट सेवा प्रदायकलाई आव्हान गरे पनि कसैले सेवा दिने प्रयास गरेका थिएनन् ।
‘कसैले चासो नदेखाएपछि आफै केही गर्नुपर्यो भनेर मैले नै सूचना प्रविधि विज्ञ महावीर पुनलाई भेटेर सहयोग गर्न आग्रह गरें’– गाउँपालिका अध्यक्ष रामसुर बुढाले भन्नुभयो– ‘उहाँले निकै राम्रो रेन्पोन्स गर्नुभयो, हामी कार्यालयसम्म इन्टरनेट पु¥याउन सफल भएका छौं, खुशी लागेको छ ।’ धेरै मेहनतपछि गाउँपालिकामा इन्टरनेट चलाउन सफल भएको जनाउँदै उहाँले यस कार्यमा महावीर पुन र सुरेन्द्र राना मगरले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । अब इन्टरनेट संभव हुने जति वडामा, विद्यालयमा र स्वास्थ्य संस्थामा पु¥याउने आफ्नो लक्ष्य रहेको अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
महंगो प्रविधि भए पनि दुर्गममा इन्टरनेट पु¥याउनुलाई पूर्वी रुकुमका बासिन्दाले सफलताको रुपमा लिएका छन् । ‘राम्रोसँग फोन लाग्दैन, फोनमा समेत लोडसेडिङ हुने यो ठाउँमा इन्टरनेट ल्याउनु ठूलो सफलता हो’– भूमे गाउँपालिका ६ महतका नवीन बुढाले भन्नुभयो– ‘यसलाई अझ प्रभावकारी बनाएर अब गाउँलाई सूचना प्रविधिसँग जोड्नुपर्छ ।’
राज्यपुनर्संरचनापछि बनेको ७७ औं जिल्ला पूर्वी विकास निर्माणका हिसाबले निकै पछि परेको छ । सदरमुकाम रुकुमकोटमा रहेको सिस्ने गाउँपालिकाको कार्यालयमा काम गर्न केही सहज भए पनि भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा सूचना प्रविधिका कारण काम गर्न कठिन छ । अब भूमेमा इन्टरनेट पुगे पनि पुथा उत्तरगंगा भने सञ्चार सम्पर्कबाट निकै टाढा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्