जेसिभीले जथाभावी नाला खन्दा भद्रपुरबासीमा खानेपानीको समस्या



उत्तम नेपाल, भद्रपुर । झापाको भद्रपुर नगर क्षेत्रमा खानेपानीको पाइप लाइन जथाभावी काटिएपछि नगर क्षेत्रका उपभोक्ता समस्या परेका छन् । भद्रपुर नगरपालिका कार्यालय र नेपाल खानेपानी संस्थान भद्रपुरले एक आपसमा सहकार्य नगर्दा नगरका उपभोक्ताले सास्ती खेप्नु परेको हो ।
नगरका अधिकांश वडामा सडकसहितको नाला बनाउने काम सुरु भएको छ । उपभोक्ता समिति मार्फत बनाउँदै आएको निर्माण कार्यमा प्रयोग गरिने जेसिभीले जथाभावी नाला खन्न थालेपछि खानेपानी संस्थानले ओछाएको पाइप काटिन थालेको छ । यसतर्फ भद्रपुर नगरपालिकाले कुनै चासो देखाएको छैन । खानेपानीको पाइप लाइन काटदा उपभोक्ता पानी पिउनबाट बञ्चित भएका छन् । भद्रपुर ६ स्थित भानुचोक छेऊमा ३ इन्च नाला खन्दा जेसिभीले एक इन्चको सिआई खानेपानीको पाइप काटिदिएको छ । पानीको पाइप काटिदा नगरबासी खानेपानी सेवाबाट बञ्चित भएका छन् । नेपाल खानेपानी संस्थान भद्रपुरका प्रमुख सिरीसराज भण्डारीका अनुसार खानेपानीको पाइप काटिएपछि संस्थानबाट वितरण हुने सबै वडामा खानेपानी ठप्प भएको स्वीकार गरे ।
नगरबासीको सेवासुविधालाई मध्यनजर गर्दै विहान तीन घण्टा पानी सुचारु गरिएपनि फेरी पानी बन्द गरेर खानेपानीका कर्मचारीले पाइप लाइन मर्मत संभार गरेका थिए । कर्मचारी पाइप मर्मत गरेपछि दिउँसो १ बजेबाट पानी सूचारु भएको उनले बताए । नगर क्षेत्रमा २ हजार ३ सय घरधुरीले यस संस्थाबाट खानेपानीको पाइप जडान गरेको छ । यसैगरी भद्रपुर ३ स्थित आपगाछी छेऊमा रहेको झिलमिलिया खोला छेऊमा खानेपानी पाइप लाइन काटिएपछि दुई दिनदेखि त्यस क्षेत्र २५ घरपरिवार पानी पिउनबाट बञ्चित भएका छन् ।
नेपाल खानेपानी संस्थान भद्रपुरले नगर क्षेत्रमा विस्तार गरेको खानेपानीको पाइप लाइनमा भल्व प्रयोग गरेको बारेमा कर्मचारीलाई थाहा नभएको पाइएको छ । करिब ३५ बर्षअघि विस्तार गरेको खानेपानी पाइप लाइन जडान गर्दा ठाँउ ठाँउमा भल्व गरिएको थियो । तर, अहिले कार्यरत नयाँ कर्मचारी पाइप लाइनको भल्व बारे थाहा नहुदाँ नगरबासीले समस्या खेप्नु परेको छ । ठाँउ ठाँउमा भल्व प्रयोग हुदाँ पनि एक ठाँउमा पाइप लाइन काटिदाँ सम्पूर्ण खानेपानी ग्राहकलाई मार्का परेको छ । भल्व बारे कर्मचारीलाई जानकारी भएको यस्तो समस्या हुदैन थियो । संस्थाका प्रमुख सिरीसराज भण्डारीले भने, ‘पाइप लाइनमा भल्व छैन, जसले पाइप लाइन काटिदा खानेपानी वितरणमा समस्या भइरहेको छ ।’ कार्यालय प्रमुखलाई नै भल्वको तथ्याक बारे थाहा नहुदाँ थप समस्या परेको नगरबासी बताउँछन ।

नगर क्षेत्रमा भइरहेको सडकसहितको नाला निर्माण कार्य गर्दा नेपाल खानेपानी संस्थानलाई कुनै पूर्व जानकारी नदिने गरेको संस्थाका प्रमुख सिरीसराज भण्डारीले गुनासो पोखेका छन् । नगरपालिकाले नाला खन्दा कहाँ खानेपानीको पाइप लाइन छ, कति खन्दा हुन्छ भन्ने जानकारी बिना जथाभावी जेसिभी प्रयोग गर्दा संस्थालाई हैरानी बेहर्नु परेको उनले आरोप लगाए । यसले गर्दा नगरबासीले खानेपानी पिउनबाट बञ्चित हुनु परेको उनले बताए । अवदेखि नाला खन्दा संस्थालाई पूर्व जानकारी गराउन खानेपानी संस्थानले भद्रपुर नगरपालिकामा लिखित पत्रचार गरिसकेको उनको भनाई छ । यता भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले खानेपानी पाइपको यकिन तथ्याक नहुदाँ समस्या भइरहेको छ । यस बारेमा संस्थानका कर्मचारीसंग छलफल गरी टुंगो लगाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्