अनलाइनबाट मुद्दा दर्ता गरिने



काठमाडौं, (नेस)
प्रधानन्यायाधीश गोपाल पराजुलीले विधिको शासन अवलम्बन गर्न कानुन व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ।

नेपाल बार एसोसिएसनको ६१औं स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले स्वतन्त्र न्यायपालिका, संविधान र कानुनको व्याख्या गर्ने कानुन व्यवसायी इमानदार हुनुपर्ने बताउनुभएको थियो। प्रधानन्यायाधीश पराजुलीले न्यायालयको एक्लो प्रयासले मात्र नागरिकमा न्यायको पहुँच नपुग्ने भएकाले बार र बेन्चबीच सुमधुर सम्बन्ध हुन जरुरी रहेको बताउनुभयो। प्रधानन्यायाधीश पराजुलीले न्याय महँगो भएको जनगुनासो बढ्नु न्याय क्षेत्रका लागि नै लाजमर्दो कुरा भएको बताउनुभयो। उहाँले अब पीडित जनतालाई न्याय दिन अनलाइनमार्फत मुद्दा दर्ता गर्ने व्यवस्था अन्तिम चरणमा पुगेको बताउनुभयो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले लोकतन्त्रमा निष्पक्ष र प्रभावकारी न्याय दिलाउन न्यायपालिकाको ठूलो भूमिका हुने बताउनुभयो। मन्त्री थापाले संविधान र कानुनको कार्यान्वयनमा राजनीतिभन्दा माथि उठेर बहस गर्नुपर्नेमा जोड दिँदै कानुन व्यवसायीको क्षमता विकासका लागि सरकारले सदा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले कानुन व्यवसायीले इमानदारीपूर्वक नागरिकलाई न्याय दिलाउन लागिरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्