विष्णुमती करिडोर सडक बेवारिसे, एकले अर्कालाई दोष दिएर उम्कन खोजियो



सुरेश तामाङ, काठमाडौं ।

विष्णुमती खोला किनारको सडक छेउमा भारत विहारका सञ्जय गुप्ताका पान पसल छ। बुधबार उनको पसल पुग्दा उनी सेम्पुको बोतल हातमा लिएर धूलो पुछिरहेका थिए। ७ वर्ष अघिदेखि सोही ठाउँमा पसल गर्दै आएका गुप्ताले पानबाहेक अरू सामानहरू पनि बिक्री गर्ने गरेका छन्।

खोलाको किनारमा रहेको सडकमा अलिकति हावा चल्दा पनि उडिहाल्ने धूलोले गर्दा उनलाई सकस हुने गरेको छ। धूलो उडिरहन्छ कसरी बस्न सक्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्– ‘सडकको धूलोले गर्दा पसल चलाउनै सकस भइसक्यो। के गर्ने के भएको छ।’

यस खोला किनारको सडक छेउमा पसल गर्ने, बसोबास गर्ने, सडकको प्रयोग गर्ने सयौं सर्वसाधारणले प्रत्यक्ष रूपमा सास्ती भोगिरहेका छन्। विहारी गुप्ताकै हविगत यहाँका अरू बासिन्दाको पनि छ। उनी त केबल यसको प्रतिनिधि पात्र मात्रै हुन्।

खोलाको ढलको गन्ध त छँदै छ। सडक किनारमै थुपारिएको फोहोरको डंगुर, ढल फुटेर सडकमै एत्रतत्र फैलिएको पानीले गर्दा सर्वसाधारणलाई सास्ती मात्रै होइन, जोखिम पनि बढाएको छ।

यसै खोलाको किनारै किनार टेकु पुलदेखि शोभाभगवती मन्दिर जाने बाटोको अवस्थाको बारेमा बयान गरी साध्य छैन। ३ वर्षदेखि बाटोको अवस्था जस्ताको तस्तै छ। सडकको सुधार त एकादेशको कथा भइसकेको छ।

सर्वसाधारण तहमा यस्तो अवस्था आए पनि सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरू भने एकले अर्कालाई दोष देखाएर पन्छन खोजिरहेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलेले विष्णुमती खोलाको ढल व्यवस्थापन गर्दै खोलाको संरक्षण गर्ने काम गरिरहेको छ।

बाग्मती सभ्यताले ढल बिछ्याउन सडक खन्दा सडकको यस्तो हविगत भएको स्थानीय बताउँछन्। तर बाग्मती सभ्यताकै कामका कारण सडक बिग्रेको भन्नु सरासर गलत भएको समितिले जनाएको छ।

डिभिजन सडक कार्यालय नम्बर २ ले विष्णुमती किनारको सडक आफूहरूको कार्य क्षेत्रमा नपर्ने बताउँदै आएको छ। कार्यालयका प्रमुख देवकुमार तामाङले विष्णुमती किनारमा बाग्मती सभ्यताले ढल राख्ने काम गरिरहेकाले सोही समितिले नै सडकको काम गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘त्यो सडकमा अहिले बाग्मती सभ्यताले ढल राख्ने काम गरिरहेको छ। त्यसकारण हामीले हेर्ने कुरा भएन। सडक उहाँहरूले खनेपछि बनाउने पनि उहाँहरूको नै हो। हामीले त उहाँहरूले हस्तान्तरण गरेपछि मात्रै हेर्ने हो।’

समितिका उपकार्यकारी निर्देशक योगेन्द्र चित्रकारले विष्णुमती खोलामा भेल बाढी नियन्त्रण, ढलको व्यवस्थापनको कामबाहेक अन्य काम आफ्नो कार्य क्षेत्रमा नपर्ने बताउनुभयो।
‘हामीले विष्णुमतीमा बाढी नियन्त्रण र ढलको व्यवस्थापन मात्रै गर्ने हो’, उहाँले भन्नुभयो– ‘त्योबाहेक हामीसँग अन्य योजना छैन।’ समितिकै कामले गर्दा सडकको अवस्था बिग्रिएको भन्नेमा उहाँ सहमत हुनुहुन्न। ‘हाम्रो कामले गर्दा सडक बिग्रेको छैन। ढल राख्न पनि अलि अलि सडक खन्ने हो। सडक खन्ने ठाउँमा हामी सडक बनाउँछौं तर अहिले सडकलाई हामीले छोएको छैनौं।’ –उहाँले भन्नुभयो। सडक बनाउन कसैले जिम्मा लिएन भने समितिले विचार गर्ने उहाँले बताउनुभयो।

समितिले बाग्मती दोभानदेखि महादेवखोला दोभानसम्म ६ किमिको भाग विष्णुमती खोलालाई संरक्षण र ढलमुक्त पार्न काम गरिरहेको जनाएको छ। आव २०७४÷०७५ भित्र सम्पन्न गर्ने लक्ष्य लिएर आव २०७१÷०७२ देखि समितिले काम थालेको थियो।

खोलाको दुईतिर ढल हाल्ने, पर्खाल लगाउने, घाट र पुरातात्विक वस्तुको संरक्षण गर्ने समितिको योजना रहेको समितिका सूचना अधिकारी प्रभात श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार समितिले हालसम्म ८० प्रतिशत पर्खालको काम सम्पन्न गरीसकेको छ भने ढलको काम भर्खरैजस्तो शुरू भएको छ। ढल हालसम्म ५ सय मिटरमात्रै राखेको छ। १ अर्ब लागतको अनुमान गरिएको यस योजनाका लागि हालसम्म ५७ करोड खर्च गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्