प्रहरीको गोली लागी म्यादी प्रहरीको मृत्यु



कालीबहादुर मल्ल, कालिकोट

सेवा सुविधा नपुगेको भन्दै म्यादी प्रहरी आन्दोलनमा उत्रेपछि भएको झडपमा परी एक म्यादी प्रहरीको मृत्यु भएको छ। म्यादी प्रहरी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा रास्कोट नगरपालिका–२ का म्यादी प्रहरी विवेक ऐडीको शुक्रबार मृत्यु भएको छ।

म्यादी प्रहरीले तलबमा सुविधाबापत राज्यले दिएको रकम जिल्ला प्रहरी कार्यालयले कटाएको भन्दै म्यादी प्रहरी आन्दोलनमा उत्रिएका थिए। जिल्ला प्रहरी कार्यालयअगाडि भएको आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रहरीले चलाएको गोली टाउकामा लागी घाइते भएका ऐडीको जिल्ला अस्पताल कालिकोटमा उपचार हुँदाहुँदै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

विदाइ हुन लागेका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयअगाडि आन्दोलन गरेका थिए। आफ्ना सहकर्मीको मृत्युपछि म्यादी प्रहरीले मान्मको जीरो प्वाइन्टमा रहेको प्रहरी पोस्ट जलाएका थिए। म्यादी प्रहरी र स्थानीयले शव जिल्ला प्रशासन कार्यालयअगाडि राखेर प्रदर्शन गर्दै प्रशासन कार्यालय घेराउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालयअगाडि म्यादीले नेपाल प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रण गर्न खुट्टामा गोली हान्न खोज्दा टाउकोमा लागेको कालिकोटका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले बताउनुभयो। जिल्लामा प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ९ सय ७३ म्यादी प्रहरी नियुक्त गरिएको थियो। उनीहरूले पाउने १ जनाबराबर ५८ हजार ४ सय ४५ रूपियाँ राज्यबाट निकासा भए पनि प्रहरीले ५२ हजार मात्र दिएको भन्दै आन्दोलन गरेका थिए। उक्त घटनापछि दंगा भत्कन सक्ने भन्दै कालिकोटमा बाँकेबाट सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ।

उक्त घटनापछि दंगा भड्कन सक्ने भन्दै कालिकोटमा बाँकेबाट सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्