पाँच दलको बैठक निष्कर्षविहीन



रामकृष्ण चापागाईं, काठमाडौं

दुई महिनादेखि राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा दलीय सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आ≈वान गर्नुभएको पाँच दलको बैठक विनानिष्कर्ष टुंगिएको छ। अध्यादेशमा दलीय सहमति नजुटेपछि कांग्रेस नेताहरूले सरकारले पठाएको उक्त अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।

राष्ट्रिय राजनीतिमा अहिले प्रमुख विवादित विषय बनेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश सरकारले कात्तिक ७ गते राष्ट्रपति कार्यालय पठाएको थियो। एकल संक्रमणीय चुनाव प्रणाली राखेर पठाइएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशप्रति मुख्यतया प्रमुख वाम घटक नेकपा एमाले र माओवादी केन्द्रले चर्को असहमति जनाइरहेका छन्।
एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको चुनाव वहुमतीय प्रणालीबाट हुनुपर्ने बताउँदै आएका छन्। अध्यादेशप्रति दलीय विवाद बढेको भन्दै राष्ट्रपतिले दुई महिनासम्म उक्त अध्यादेश जारी गर्नुभएको छैन। यो अध्यादेशप्रति दलीय असहमति बढेसँगै स्वयम् राष्ट्रपतिसमेत विवादमा मुछिँदै आउनुभएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आएसँगै स्पष्ट बहुमत ल्याएका वाम गठबन्धनका प्रमुख दल एमाले र माओवादी केन्द्रले वर्तमान काम चलाउ सरकारलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरिरहेका छन्।

वाम घटक यी दुई दलले निर्वाचनमा समेत तालमेल गरी उम्मेदवारी दिएका थिए। साथै यी दलले राष्ट्रियसभा गठनसम्बन्धी सरकारले पठाएको अध्यादेश जारी नगर्नसमेत राष्ट्रपतिलाई आग्रह गरिरहेका छन्। निर्वाचन आयोगले समेत राष्ट्रियसभाको गठन नभई निर्वाचनको पूर्ण परिणाम सार्वजनिक गर्न नसकिने जनाएपछि दलहरूबीच थप विवाद बढेको छ।

राष्ट्रिय राजनीतिमा राष्ट्रियसभा गठनको विषय धेरै विवादित बन्दै गएपछि प्रधानमन्त्री देउवाले हालै सम्पन्न निर्वाचनपछि राष्ट्रिय दलको हैसियत कायम गरेका प्रमुख पाँच दलका शीर्ष नेताहरूको बैठक आ≈वान गर्नुभएको थियो। शुक्रबार बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। बैठकमा नेताहरूले आ–आफ्नो दलीय अडान नछोडेपछि बैठक विनानिष्कर्ष टुंगिएको थियो।

बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले भन्नुभयो– ‘सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले रोक्न मिल्दैन। राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भन्दै उहाँले सरकारले पठाएको अध्यादेश तुरुन्त जारी गर्नुको बिकल्प छैन।’
बैठकबाट बाहिरिने क्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पहिला राष्ट्रियसभा गठनसम्बन्धी विधेयक प्रस्तुत गर्दा दलहरूबीच सहमति नभएको भन्दै अहिले सरकारले प्रस्तुत गरेको अध्यादेशमा पनि अन्तरवस्तुमै फरक परेकाले ५ दलको बैठक निष्कर्षमा पुग्न नसकेको बताउनुभयो।
५ दलको बैठक निष्कर्षविहीन भएपछि अध्यादेश पारित गर्न आग्रह गर्न भन्दै कांग्रेसका शीर्ष नेताहरू राष्ट्रपति निवास गएका थिए। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र नीधिलगायतका शीर्ष नेताहरूले राष्ट्रपतिलाई भेटी अध्यादेश जारी नहुदा राजनीतिक गतिरोध बढ्ेको
भन्दै अध्यादेश जारी गर्न आग्रह गरेका थिए। कांग्रेस नेता सिटौलाका अनुसार कांग्रेस नेताहरूले राष्ट्रपतिलाई सरकारले पठाएको अध्यादेश जारी गरि आफ्नो गरिमा नगुमाउन आग्रह गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्