हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयका बिषयमा बिवाद



रामधन राई, खोटाङ । खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय राख्ने स्थानका विषयमा बिवाद भएको छ । दुर्छिमको छापडाँडामा रहनुपर्ने नगरपालिकाको कार्यालयलाई मेयर इवन राईले कोटगैरामा राख्ने निर्णय गराएको भन्दै चार वडाध्यक्षले बिरोध जनाएका हुन् ।
बुधबार बसेको ११ सदस्यीय नगर कार्यपालिकाको बैठकमा मेयर राईले स्वेच्छाचारी ढंगले छापडाँडामा रहेको नगरपालिकाको कार्यालय कोटगैरामा राख्नका लागि निर्णय गराएको भन्दै हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका वडाअध्यक्ष हरिकुमार खड्का लगायतले बिज्ञप्तीमार्फत बिरोध जनाएका छन् । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाअध्यक्ष भलाराज राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाअध्यक्ष रमेश तिवारी खत्री र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष चइन्द्र राईले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् ।
नगरपालिकाको कार्यालय राख्ने स्थानका विषयमा असहमती जनाउँदै कार्यपालिका बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका चार वडाध्यक्षले अपायक स्थानमा नगरपालिकाको कार्यालय राख्न नहुने जनाएका छन् ।
नगरबासीका लागि अपायक हुने र किरातीको ऐतिहासिक एबं पर्यटकिय स्थल होलेसुङ र रावाचुङ्गढीको संरक्षण र प्रवद्र्धनमा असर पुग्ने भएकाले नगरपालिकाको कार्यालय कोटगैरामा राख्न नहुने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाअध्यक्ष चइन्द्र राईले बताउनुभयो ।
नगरपालिकाका लागि स्थानीयबाट चार स्थानमा जग्गा प्राप्त भएको छ । सामान्य मापदण्ड समेत नबनाई जग्गा छनौट गरिएको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका अध्यक्ष भलाराज राईले बताउनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद २ को ४ मा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र, उपदफा ३ मा गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्रको हेरफेर गर्नु परेमा सम्वन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यापालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने व्यवस्था भएको राईको भनाई छ ।
स्वार्थ र कमिसनको खेलमा नगरपालिकाको कार्यालय कोटगैरा पु¥याउने खेल भएको वडाध्यक्षको आरोप छ ।
हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले भने अन्य जग्गामा अस्पताल, खेलमैदान र बसपार्क राख्ने तथा कोटगैरामा नगरपालिकाको कार्यालय राख्ने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्