मधेश प्रदेशको राजधानी बनाउने मुद्दा पेचिलो



कृष्णउदास खनाल, वीरगन्ज । देशको निर्वाचन सम्पन्न भए लगत्तै राजधानीको बिषय प्रदेश नम्बर २ मा पनि पेचिलो बनेको छ ।
खासगरी बारा र पर्साका केही राजनीतिक दल र युवा अगुवाहरुले वीरगन्जलाई २ नम्बर प्रदेशको राजधानी बनाउन माग गर्दै केही दिनदेखि प्रदर्शन सहित दबाब मुलक कार्यक्रम संचालन गरिरहेका छन् भने अन्य जिल्लाका स्थानीयहरु भने रिमते जस्ता देखिएका छन् । मधेशको मात्रै आठवटा जिल्ला रहेको प्रदेश नम्बर २ को राजधानीको बिषयमा बिभिन्न राजनीतिक दलहरुको आआफ्नै दृष्टिकोण रहेको पाइएको छ । बाम गठबन्धनले वीरगन्जलाई अली बढी प्राथमिकता दिएको जस्तो देखिएपनि मधेशवादी दलहरु भने खासै अग्रसर भएको देखिएको छैन ।
केही मधेशवादी दल र कांग्रेसका नेता बिमलेन्द्र निधि समेत २ नम्बर प्रदेशको राजधानी जनकपुर बनाउनु पर्नेमा एकमत रहेको पाइएको छ । वीरगन्जमा आयोजना गरिएको दबाब मुलक कार्यक्रममा पनि मधेशवादी दलको भन्दापनि बाम र कांग्रेस समर्थिक युवाहरुको सहभागिता रहेको छ । राजधानी बनाउने सवालमा मधेशवादी गठबन्धनको मात्रै भूमिका महत्वपूर्ण हुने बिश्लेषण गरिएको छ । नेपाली कांग्रेसका युवा नेता लुकेश सिंहले वीरगन्जलाई राजधानी धेरै हिसावले बनाउन आवश्यक रहेको बताए । मधेश आन्दोलनको केन्द्रबिन्दु भएकाले पनि वीरगन्जको बिकल्प खोज्न नहुने उनको तर्क छ ।
तर,मधेशवादी दलका समर्थक नेता र केही पत्रकारले समेत राजधानी जनकपुर हुने संभावना रहेको सामाजिक संजाल मार्फत बताएका छन् । मधेशवादी गठबन्धनको सरकार बन्ने तयारीमा रहेको मधेशमा आन्दोलनको केन्द्रबिन्दु वीरगन्ज भएपनि अहिले राजधानीको सवालमा भने मधेशवादी दलका नेताहरु नै नबोल्नु दुखःद कुरा भएको वीरगन्जका युवा प्रभाकर गुप्ताले बताए । आफूहरुले चुनाव अगाडि र धेरै पहिले देखि नै वीरगन्ज राजधानीको माग गरेका कारण यसको बिकल्प खोजिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । माओवादी निकट रहेको गुप्ता वीरगन्जलाई राजधानी बनाउनका लागि सबै प्रकारका पूर्वाधार रहेको बताएका छन् । वीरगन्जमा अहिले दिनहुजसो राजधानीको माग गर्दै प्रदर्शन भने भइरहको छ ।

प्रतिक्रिया दिनुहोस्