महोत्सवको एउटै लक्ष्य–चिडियाखाना निर्माण



धन बस्नेत, पोखरा । झण्डै एकदशक अघि शुरु भएको हो पोखरा महोत्सव । महोत्सव केवल मनोरन्जन मात्रै होईन् । व्यवसायिक प्रवद्र्धन, बजारीकरणसँगै पर्यटन विकासको महत्वपूर्ण पाटो बन्दै आएको छ । महोत्सवको शुरुवातसँगै पोखरामा चिडियाखाना निर्माण गर्ने प्रस्ताव गरिएको थियो । प्रस्ताव अनुसार अहिले वन्यजन्तु उद्दार केन्द्र बनाइएको छ । वन्यजन्तुमा विभिन्न वन्यजन्तुलाई संरक्षण गरिएको छ ।

युनाईटेड क्लबले पोखरा महोत्सव गर्दै आएको छ । महोत्सवको शुरुवातसँगै क्लबले चिडियाखाना निर्माण गर्ने लक्ष्यसहितको अवधारणा सार्वजनिक गर्यो । अवधारणालाई पुरा गर्न वर्षेनी आयोजित महोत्सवबाट नाफाको २५ प्रतिशत रकम चिडियाखाना निर्माणमा खर्चदै आएको छ ।

“चिडियाखाना निर्माण गर्ने अवधारणालाई पुरा गर्ने लक्ष्य छ ।” पोखरा युनाईटेड क्लबका अध्यक्ष सुकबहादुर गुरुङले भने–“प्रारम्भिक चरणमा वन्यजन्तु उद्दार केन्द्र स्थापना गरेर काम अगाडि बढाएका छौै ।” पोखरा लेखनाथ महानगरपालिका ३१ स्थित पचभैया सामुदाकिय बनलाई चिडियाखाना बनाउने निर्णय गरिएको छ । १३४ हेक्टर बन क्षेत्रलाई चिडियाखाना बनाई पर्यापर्यटनको प्रवद्र्धन हुने विश्वास लिईएको छ ।

चिडियाखाना बनाउन हालसम्म ४५ लाख रुपैयाँ खर्च भईसकेको छ । क्लबले ३५ लाख ८५ हजार खर्च गरेको छ । तत्कालिन लेखनाथ नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग दिएको थियो । संकलित रकमबाट सामुदायिक बनभित्र १० वटा केज बनाई वन्यजन्तु उद्दार केन्द्र बनाइएको छ । “बन मन्त्रालयले २० लाख रुपैयाँ छुट्टाएको छ ।” उनले भने–“वन्यजन्तु अवलोकनसँगै अध्ययन केन्द्र बन्ने छ ।”

उद्दार केन्द्रमा रतुवा, जरायो, निलगाई, किङकोब्रा, अजिंगर, बन विरालो, हुचिल लगायतका जीवजन्तु संरक्षण गरिएको छ । “अवलोकन मात्रै नभई वन्यजन्तुको प्रजनन केन्द्रको रुपमा समेत विकास गर्ने लक्ष्य छ ।” उनले भने । चिडियाखाना निर्माणले लेखनाथको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास स्थानीयबासीले लिएका छन् ।

स्थानीय पर्यटन व्यवसायी समेत रहेका समाजसेवी दामोदरभक्त थापाले उद्दार केन्द्र निर्माणले वन्यजन्तुको संरक्षणसँगै पर्यापर्यटनमा टेवा पुग्ने बताए । उनले भने–“उद्दार केन्द्रलाई बढाउन सकिए चिडियाखाना निर्माण गर्न सहज हुने छ ।”

क्लबले आफनो अवधारणलाई पुरा गर्न वर्षेनी महोत्सवलाई निरन्तरता दिदैं आएको छ । आठौं सस्करणको महोत्सवको तयारी गरेको छ । पुष २७ गतेदेखि आयोजना गरिने महोत्सवको नाफाको २५ प्रतिशत रकम चिडियाखानालाई छुट्टाईने छ । त्यतिमात्रै नभई क्लबले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा समेत महोत्सवबाट नाफाको रकमलाई बाडँफाँड गर्र्दै आएको छ । क्लबको एउटै ध्येय नै चिडियाखाना निर्माण हो ।

प्रतिक्रिया दिनुहोस्