मोदीले गरे शीर्ष नेतासँग संवाद



काठमाडौं, (नेस)
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहीबार टेलिफोन संवाद गर्नुभएको छ।

टेलिफोन संवादमा मोदीले भर्खरै सम्पन्न निर्वाचन र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा गर्नुभएको बताइएको छ। भारतीय विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता रविश कुमारले मोदीले नेपालका शीर्ष राजनीतिक दलका नेताहरूसँग नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे टेलिफोन संवाद गर्नुभएको पुष्टि गर्नुभएको छ।

तीनै जना नेतासँगको संवादमा मोदीले ऐतिहासिक निर्वाचन सम्पन्न भएपछि नेपालको लामो राजनीतिक संक्रमण अन्त्य भएको बताउनुभएको थियो। प्रधानमन्त्री देउवालाई बधाई दिँदै मोदीले स्थानीय, प्रतिनिधिसभा, प्रदेशसभा धाँधलीरहित र निष्पक्ष रूपमा सम्पन्न भएपछि लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य हुने बताउनुभएको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो।

पूर्वप्रधानमन्त्री ओली र दाहालसँगको वार्तामा मोदीले वाम गठबन्धनको नेतृत्वमा गठन हुने नयाँ सरकारसँग आफ्नो सरकारले सहकार्य गर्ने बताउनुभएको थियो। प्र्रतिउत्तरमा ओलीले अब गठन हुने नयाँ सरकारले लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासलाई प्राथमिकता दिने बताउनुभएको थियो। नेपालको आर्थिक समृद्धि छिमेकी मुलुकहरूको साथ र सहयोगले मात्र सम्भव हुने ओलीले बताउनुभएको एमाले उच्चस्रोतले जनाएको छ। यसअघि गत साता निर्वाचन सम्पन्न भएको धेरै दिनपछि भारतीय विदेश मन्त्रालयले निर्वाचनको स्वागत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्