बालुवा उत्खनन् गर्न नपाए जिल्ला ठप्प पार्ने चेतावनी



शाालिकराम चालिसे, नुवाकोट । नुवाकोटमा बालुवा प्रशोधन गर्दै आएका बालुवा प्रशोधन व्यवसायीहरुले बालुवा उत्खनन् सहज नभएकाले व्यवसाय धरासायी भएको बताएका छन् । नुवाकोट बालुवा प्रशोधन व्यवसायी संघले बट्टारमा पत्रकार सम्मेलनको गर्दै भुकम्पपछिको पुर्ननिर्माणको लागि जिल्लाभित्रबाट अत्याधिक पुर्ननिर्माण भइरहेपनि जिल्लाभित्रका खानी सञ्चालन नहुँदा माग अनुसारको बालुवा उपलब्ध गराउन नसकिएको जनाएको छ । नुवाकोट जिल्लामा सञ्चालनमा रहेका ४९ वटा बालुवा प्रशोधन केन्द्र रहेकोमा ती उद्योगहरुमा नुवाकोटभित्रै रहेका कच्चा पदार्थ उत्खनन् गर्न पाउनुपर्ने माग व्यवसायीहरुले राखेका छन् ।
नुवाकोटमा दर्ता भएका बालुवा प्रशोधन उद्योगहरुले धादिङबाट कच्चा पदार्थ ल्याई प्रशोधन गर्नका लागि दर्ता गरिएको छ । धादिङबाट कच्चा पदार्थ ल्याउँदा बालुवा महंगो हुने भएकाले स्थानीय तहका जनप्रतिनिधिहरु, प्रशासन र जिल्ला समन्वय समितिले नुवाकोटमै रहेका खानीहरुबाट बालुवा उत्खनन् गर्ने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन् ।
नुवाकोट बालुवा प्रशोधन व्यवसायी संघका अध्यक्ष राजु थापाले जिल्लाभित्रै उत्खनन्को व्यवस्था नमिलाए बालुवा विक्री ठप्प पार्ने बताउनुभयो । उहाँले बालुवा उत्खनन्को सहज व्यवस्था मिलाउन सरोकारवालाहरु सबै एक जुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष प्रकाश राईले नुवाकोटमै रहेका खानीवाट बालुवा प्रशोधन गर्ने व्यवस्था मिलाएमा भुकम्पपीडितहरुलाई सहुलियत दिन आफूहरु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै संघका महासचिव कृष्णप्रसाद अधिकारीले जिल्लाभित्र राष्ट्रिय गौरवका आयोजनाहरुसहित नदीजन्य पदार्थको माग अत्याधिक रहेपनि माग अनुसारको आपुर्ती सहज बनाउन सरोकारवालाहरुले वेवास्था गरेको बताउनुभयो ।
नुवाकोटमा ४९ वटा बालुवा प्रशोधन उद्योगहरु रहेपनि यी उद्योगका लागि बालुवा धादिङबाट ल्याएर प्रशोधन गर्नेगरी दर्ता गरिएको छ ।
दुई दिन अघि जिल्ला समन्वय समितिको अगुवाईमा बसेको सर्वपक्षीय बैठकमा भुकम्पपीडित नुवाकोटवासीलाई सहुलियत मूल्यमा बालुवा विक्री गर्ने र बालुवाको सहजताको लागि बालुवा उत्खनन् सहज बनाउने विषयमा छलफल भएपनि वैठक विना निष्कर्ष टुंगिएको थियो । वैठकमा व्यवसायीहरुले बालुवा उत्खनन् सहज नबनाएसम्म भुकम्पपीडितलाई सहुलियत दरमा नदीजन्य पदार्थ उपलब्ध गराउन नसकिने अडान लिएका थिए ।
खानी सञ्चालनको लागि अनुमति दिने निकायबाट दर्ता नगरी अवैधानिक बाटोबाट बालुवा उत्खनन् गर्ने विषयमा बेलकोटगढी नगरपालिका र विदुर नगरपालिकाका प्रमुख, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले कडा प्रतिवाद गरेका छन् । सोही विषयमा सहमति हुन नसकेपछि बालुवा प्रशोधन व्यवसायीहरुले आफूहरुको माग वेवास्था भएमा बालुवाको विक्री वितरण ठप्प पार्ने चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्