जेष्ठनागरिकको न्यानो कपडामा भ्रष्टाचार !



राम धामी, डडेल्धुरा । डडेल्धुराको भित्रिमधेस क्षेत्रस्थितपरशुराम नगर कार्यपालिकाद्वारा गठित छानबिन समितिले न्यानो कपडा खरिद प्रकरणमा आर्थिक अनियमितता भएको ठहरगर्दै सो कार्यमा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेको छ ।
परशुराम नगरपालिका कार्यालयले नगर क्षेत्रका जेष्ठ नागरिकका लागि न्यानो लुगा खरिदगर्दा आर्थिक अनियमितता भएको नगर कार्यपालिकाद्वारा गठित छानबिन समितिले बिहीबार जोगबुडामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । नगर कार्यपालिकाबाट वडाध्यक्ष केशब बोहराको अध्यक्षतामा गठित छानबिन समितिले छानबिन प्रतिवेदन सार्वजनिकगर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्य र सूचना अधिकृत जगन्नाथ जोशीको मिलोमतोमा जेष्ठ नागरिकहरुका लागि न्यानो कपडा खरिदमा आर्थिक अनियमितता र भ्रष्टाचार भएको ठहर गरेको हो ।
बजार दररेट भन्दा झण्डै तेब्बर मुल्यमा न्यानो कपडा खरिद गरिएको र कोटेशन मार्फत खरिद गरिएका कपडा गुणस्तरहीन भएकोले सो कार्यमा संलग्न प्रमुख प्रशासकीय अधिकृतसहित संलग्न कर्मचारीलाई कर्मचारी नियमावली अनुसार कारवाही गर्न सिफारिस गरिएको छानबिन समितिको संयोजक परशुराम नगरपालिका–७ का वडाध्यक्ष बोहराले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले नगरप्रमुख भिमबहादुर साँउदले पहिला पेश गरिएको बिल गलत भएकाले नयाँ बिल पेश गरिएको भन्दै दोषीलाई जोगाउन खोजेको आरोप समेत लगाए । गत साता न्यानो कपडा खरिदमा आर्थिक अनियमितता भएको भन्दै वडास्तरका जनप्रतिनिधीहरुले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण कार्यमा अवरोध गरेका थिए ।
नगरपालिकाले नगर क्षेत्रमा रहेका ८० बर्ष पुरा गरेका ७ सय ५० जना जेष्ठ नागरिकका लागि न्यानो कपडा खरिद गर्ने निर्णय गरेको थियो । कोटेसन मार्फत हरेक जेष्ठ नागरिकका लागि स्वीटर, कम्बल र कम्बलको खोल खरिद गरिएको नगरपालिकाले जनाएको छ । न्यानो कपडा खरिदका लागि कैलालीको धनगढीस्थित एबीआर सप्लायर्सको कोटेसन सदर भएको र सोहि सप्लायर्सले कपडा वितरण गरेको थियो ।
“तीनओटै कोटेसन फारम एउटै ब्यक्तिले भरेको पाइएको छ,” छानबिन समितिका संयोजक बोहराले पत्रकार सम्मेलनमा भने, “कर्मचारीले आर्थिक अनियमितता गर्ने उदेश्यले गल्ती गरेको पुष्ठी भएकाले उनीहरुमाथि कडा कारवाही हुनुपर्छ ।” नगरपालिकामा सकृय राजनीतिक दलहरुले पनि सो प्रकरणमा दोषीहरुलाई कडा कारवाहीको माग गरेका छन् । नेकपा –एमाले० परशुराम नगर कमिटिका का।वा। अध्यक्ष गणेशबहादुर सिँह र नेकपा माओवादी केन्द्र परशुराम नगरकमिटिका अध्यक्ष शेरसिँह माल ‘डाइमण्ड’ले संयुक्त प्रेश विज्ञप्ती जारीगर्दै सम्मानित जेष्ठ नागरिकका लागि न्यानो कपडा खरिद गर्दा नगरपालिकाले आर्थिक अनियमिता गरेको पुष्ठी भइसकेकाले दोषी उपर कडा कारवाही हुनुपर्ने माग गरेकाहुन ।
परशुराम नगरपालिकास्तरीय संयुक्त वाम गठबन्धनका संयोजक शेरसिँह बोहरा ‘रोशन’ले आर्थिक अनियमितता गर्ने कार्यमा संलग्नलाई कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिए । नगरपालिकाबाट भ्याटसहित जनही ३०७५ रुपैयाका दरले न्यानो कपडा उपलब्ध गराइएको थियो । बजार मुल्य भन्दा निकै बढि दरमा कपडा उपलब्ध गराइएको र कपडा गुणस्तरहीन रहेको नगरपालिकाका वडाअध्यक्षहरु बताउछन् ।
न्यानो कपडा खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै वडाध्यक्षहरुले कपडा वितरणमै अवरोध गरेपछि नगर कार्यपालिकाको आईतबार सम्पन्न बैठकले सो प्रकरणमा छानबिन गर्न वार्ड नं। ७ का वार्ड अध्यक्ष बोहराको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिका सदस्यहरुमा १२ नंम्बर वडाका वडाध्यक्ष गणेश जोशी र कार्यपालिका सदस्य धर्मेन्द्र नेपाली सदस्य छन् । विश्वस्त श्रोतहरुका अनुसार कोटेसन सदर गरिएको सप्लायर्सबाट कुल बजेटको आधा रकम घुस खाएर गुणस्तरहीन कपडा तेब्बर मुल्यमा खरिद गरिएको हो । सो कार्यमा कर्मचारीसँगै नगरप्रमुख साँउदको पनि संलग्नता रहेको छानबिन समितिको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्