खानेपानीको ढलले कालोपत्रेमा समस्या



सुरेश तामाङ, काठमाडौं

काठमाडौं उपत्यकाबासीलाई पानी खुवाउन बिछ्याइएको राणाकालीन पाइप लाइनबाट पानी चुहिँदा सडक कालोपत्रे गर्न समस्या उत्पन्न भएको छ।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयले सडकमा खानेपानीको पाइपबाट पानी चुहिँदा सडक कालोपत्रे गर्न कठिन भएको बताएको छ।

सडकमा पानी चुहिँदा निर्देशनालयअन्तर्गतका डिभिजन सडक कार्यालयहरूलाई सडक कालोपत्रे गर्न समस्या देखिएको निर्देशनालयका इन्जिनियर प्रदीप श्रेष्ठले बताउनुभयो।

‘सडक पिच गर्ने ठाउँमा खानेपानीको पाइप फुटेर पानी चुहिएको छ। यस्तो अवस्था शहरको मुख्य सडकमै छ।’ उहाँले भन्नुभयो– ‘अब पिच गर्नुपर्ने सडकमा पानी बगेपछि पिच गर्ने कुरा आएन। यसले धेरै समस्या गरेको छ।’

उहाँका अनुसार उपत्यकाका मुख्य गरी मित्रपार्क–चाबाहिल सडक खण्ड, पानीपोखरी–लैनचौर–लाजिम्पाट क्षेत्रमा काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडको पानी वितरण लाइनबाट पानी चुहिएको हो। पानी चुहिएको ठाउँको भागलाई छोडेर कालो पत्रेको काम निरन्तर रुपमा भइरहेको निर्देशनालयका इन्जिनियर श्रेष्ठले बताउनुभयो।

आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना–२ ले काठमाडौंमा विस्तार गरिरहेको वितरण सञ्जाल बिछ्याइएको स्थानहरूमा उपआयोजनाकै आग्रहमा डिभिजन सडक कार्यालयहरूले सडक कालोपत्रे गरिरहेको छ।

खानेपानीको सञ्जाल बिस्तार गर्दा उपआयोजनाले उपत्यकाका विभिन्न सडकहरू खनेको थियो। अहिले विभिजन सडक कार्यालय काठमाडौं १ अन्तर्गत पर्ने ३५ सडकमध्ये ६ वटा सडकहरू कालोपत्रे गरिरहेको छ।
उपत्यकाको मुख्य सडकमुनि बिछ्याइएका पुराना पाइपहरू जीर्ण भई सवारी गुड्दा पनि त्यसको भाइबे्रसनले गर्दा पानी चुहिने क्रम निरन्तर रहेको र मर्मत गर्ने कामलाई पनि निरन्तर रुपमा गरिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक डा. महेश भट्टराईले बताउनुभयो।

सडकले कालोपत्रे गरिरहँदा पनि १ सयभन्दा बढी ठाउँमा पानी चुहिएको पाईपको मर्मत गरेको भन्दै उहाँले भन्नुभयो– ‘उपत्यकाको सडकमुनि पुरिएको खानेपानीका पाइपहरू धेरै नै पुराना भइसकेका छन्। सवारीको जोडले पनि पाइप फुट्ने सम्भावना छ। जसले गर्दा पानी चुहिने क्रम पनि निरन्तर देखिरहेको छ। हामीले मर्मत पनि देखिनेबित्तिकै गरिरहेका छौँ।’
मेलम्चीले खानेपानीको पाइपलाइन बिस्तार गर्दा खनेको सडकहरू १ सय ७० किमि सडकखण्ड कालोपत्रे गर्न बाँडफाँड गरेको छ। उपआयोजनाले १ सय १० किमि गर्ने र डिभिजन सडक कार्यालयले ६० किमि सडक विस्तार गर्ने सहमति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिला ढकालले बताउनुभयो।

उहाँका अनुसार उपआयोजनाले कालोपत्रे गर्नुपर्ने १ सय १० मध्ये हालसम्म १३ किमि सडकखण्ड कालोपत्रे सम्पन्न गरिसकेको छ। असार शुरु हुनु अगावै सबै सडकखण्ड कालोपत्रे सम्पन्न हुने उहाँले दाबी गर्नुभयो। अहिले उपआयोजनाले उपत्यकाका विभिन्न वितरण सञ्जालमा भल्ब चेम्बर बनाउने, पाइपलाइन बिस्तार गर्ने, खानेपानी ट्यांकी बनाउने, पाइप बिछ्याउन खनेको सडक कालोपत्रे गर्ने, घरघरमा धारा जडान गर्ने गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्