सिलवालमाथि अनुसन्धान शुरू



काठमाडौं, (नेस)
बढुवा प्रक्रियाका लागि पेस गरेको कागजात कीर्ते भएको भन्दै सर्वोच्च आदालतले निर्देशन दिएपछि महान्यायाधिवक्ता वसन्तराम भण्डारीले पूर्वडीआईजी एवं एमालेका सांसद नवराज सिलवालमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको छ।

सर्वोच्च अदालतले सिलवालको मुद्दाको पूर्ण पाठको आधारमा महान्यायाधिवक्ता भण्डारीले सो निर्देशन दिनुभएको हो। फैसलाको पूर्णपाठमा सिलवालको कार्य सम्पादन मूल्यांकन (कासमु) गलत पेस गरेको भन्दै छानविन गरी कारबाही गर्न निर्देशन दिएको हो।

महान्यायाधिवक्ताको कार्यालयले बुधबार उक्त घटनाका बारेमा अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा निवेदन दर्ता गराएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदार प्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको ७ सदस्यीय वृहद पूर्ण इजलासले गलत कासमु पेश गर्ने विषयमा क–कसको संलग्नता रहेको हो सो विषयमा छानविन गरी दोषीउपर कारबाही गर्न निर्देशन दिएको थियो।

यस विषयमा सांसद सिलवालसँग सम्पर्क राख्दा उहाँले यो राजीतिक साध्ने षड्यन्त्र भएको बताउनुभएको छ। उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्