मेची पुलको निर्मार्ण, एक महिनाभित्र सम्पन्न हुने



उत्तम नेपाल, भद्रपुर
भारतीय सीमावर्ती नाकासँग जोड्ने झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधीन पक्की पुल अबको १ महिनाभित्र निर्माण सम्पन्न हुने भएको छ।

बहुप्रतिक्षित मेची पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ। नेपाल विक्रम सम्वत २०६६ माघ २१ गतेदेखि मेची पुल निर्माण कार्य शुरू भएको थियो। ३ वर्षमा निर्माण कार्य सम्पन्न हुनुपर्ने मेची पुल ९ वर्षपछि बल्ल सम्पन्न हुन लागेको छ।

लगभग ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेकाले अब १ महिनामा पुल तयार हुनेछ। १ वर्षअघि नै १७ पिलरमध्ये १५ वटा पिलरसहित पुलमाथिको ढलान पूरा भइसकेको थियो । निर्माणाधीन अवस्थामा पुलको १० र ११ नम्बरको पिलर माटोमुनि धसाउने क्रममा बाङ्गिएको थियो। सो पिलरमा अहिले धमाधम काम भइरहेको कन्ट्रक्सनका इन्जिनियर सुरेन्द्र खतिवडाले बताए।

इन्जिनियर खतिवडाले भने, ‘२ वटा पिलर उठाउने काम सम्पन्न भइसकेको छ, अहिले पिलरमाथि तयारी अवस्थामा रहेको गडर क्रेनको सहयोगमा चढाउने काम हुँदै छ।’ ‘११ वटा गडर चढाइसकेका छौ अब एउटा गडर उठाउन बाँकी छ, उनले भने– ‘चढाएको गडरमाथि रड बुन्ने काम तिव्र पारेका छौं, केही दिनभित्र त्यसमाथि ढलान गर्नेछौं।’ १०५ मिटर मात्र निर्माण कार्य बाँकी रहेकाले यही माघ मसान्तसम्म पुलको काम सम्पन्न भइसक्ने उनको दावी छ।
निर्माणाधीन अवस्थामै पिलर नम्बर १० र ११ माटोमा धसाउने क्रममा २५ सीएम (टिल) बाङ्गिएको थियो। माटो परीक्षणको गलत रिपोर्टका कारण यस्तो हुन गएको निर्माण कम्पनीले जनाएको छ। पिलर बाङ्गिएपछि गत २०७२ फागुनमा सडक विभाग र हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर सहितको टोलीले बाङगिएको पिलरलाई रि–डिजाइन गरी बनाउन स्थलगत अनुगमन गरेर गएका थिए। विभागका इन्जिनियरले स्थगलत अनुगमन गरेर गएपनि लामो समयसम्म आधिकारिक पत्र कम्पनीलाई नदिँदा काम प्रभावित भएको थियो।

स्थानीय र राजनीतिक दलको चर्को दबाबपछि सडक विभागले २०७४ साल वैशाख २९ गते रि–डिजाइनको आधिकारिक पत्र कम्पनीलाई पठाएको थियो। पत्र पठाएको केही दिनमै निर्माण कार्यले तिव्रता लिएको कन्ट्रक्सनका इन्जिनियर खतिवडाले बताए। मेची पुलको निर्माण कार्य माघ मसान्त सम्म सम्पन्न हुने भएपनि पुल जोड्ने सडक निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ। पुलको पूर्वपट्टि अर्थात भारतीय भूमि (१०३ नम्बर सीमा पिलरसंग) जोड्ने सय मिटर सडक र पश्चिमपट्टि १ सय ८० मिटर लम्बाई र ३० मिटर चाडाइ भएको सडकको निर्माण पुल कम्पनीले निर्माण गर्नुपर्ने हुन्छ।

पूर्वपट्टि भारतको बंगाल तथा बिहार राज्य पर्ने भएकाले सो सडकलाई बिहार सरकारले जोडेर विस्तार गर्ने योजना अघि बढिसकेको छ। बिहार सरकारले सो सडक जोड्नलाई सडकको अनुगमन गरेर ३६० मिटर सडक निर्माणका लागि टेन्डर प्रक्रियामा गइसकेको बुझिएको छ। तर, नेपालको भद्रपुर जोड्ने सडक निर्माण गर्ने स्थानमा बसोबास गर्दै आएका नगरबासी र सरकारी भौतिक संरचना अहिलेसम्म खालि गराइएको छैन। जमिन खालि गराउन ८ करोड रकमको आवश्यक देखिएको छ।

भौतिक संरचना हटाउन जमिनका लागि मात्र साढे पाँच करोड र घरको मूल्याकंन गर्दा करिब साढे २ करोड रकम आवश्यक रहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले बताए। उनका अनुसार सडकमा पर्ने २२ घरपरिवारलाई जमिनबापत ४ करोड वितरण गरिसकेका छौं। जमिनको साढे १ करोड र भवनको गरी अझै साढे ३ करोड रकम आवश्यक देखिएको छ। यसको अध्ययन गरी आधिकारीक पत्र सडक विभागमा पठाइसकेका छौं। अब सडक विभागले अर्थ मन्त्रालयसँग रकम माग गरेर पठाएपछि अनि मात्र सडकको काम शुरू हुने उनले बताए। भर्खरै निर्वाचन सम्पन्न भएकाले रकम केही प्राप्त हुने भन्ने विषयमा सडक विभागमा पनि अन्यौलमा रहेको उनको भनाइ छ।

पूर्वी काकँडभिट्टा नाकापछि झापाको दोस्रो नाकामा भद्रपुरमा पर्छ। बिहार तथा बंगालसहित बंगलादेश जानसमेत यस नाकाबाट दूरी छोटो पर्ने भएकाले यस नाकाको छुट्टै विशेषता छ। यस नाकामा पर्ने मेची नदीमा पक्की पुल बनाउनुपर्ने भन्दै ७ दशकदेखि यहाँका जनताले माग उठाउदै आएका थिए। बल्ल जनताको सपना पुरा हुन लागेको छ। वर्षाको ४ महिना नेपाल तथा भारत दुवै देशका नागरिक आफ्नो ज्यानको जोखिम मोल्दै डुंगाको प्रयोग गरेर आवतजावत गर्न बाध्य छन्।

वर्षा सकिनसाथ मेची नदीमा बनाइँदै आएको अस्थायी बाँसे पुलको सहयातामा पनि सर्वसाधारण आवतजावत गर्ने गर्छन्। नदीमा अस्थायी बाँसे पुल बनाएको पनि १५ वर्षभन्दा बढी भइसकेको छ। केही वर्ष भद्रपुर नगरपालिकाले सर्वसाधारणको सेवासुविधालाई मध्यनजर गर्दै बाँसे पुलबाट आवतजावतलाई निःशुल्क बनाएको थिए। तर, यसवर्ष नगरपालिकाले सर्वसाधरणबाहेक अन्य सवारीसाधन र सरसमानबाट शुल्क उठानका लागि ठेक्का नै दिएको छ। नाकामा भद्रपुर छोटी भन्सार रहेकाले त्यतिकै मात्रामा भारतबाट सरसामान पनि राँगा गाढाको प्रयोग गरेर नेपाल आयात हुने गरेको छ।

तत्कालीन उपप्रधान एवंम भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६६ माघ २१ गते मेची पुलको शिलान्यास गर्दै ३ वर्षभित्र पुल निर्माण हुने दाबी गरेका थिए। तर, गच्छदारले बोलेको कुरा तीन वर्षमा नभएर बल्ल ९ वर्षमा पूरा हुन लागेको छ। भारतको बंगाल तथा बिहार राज्यसँग जोडिने पुलको कुल लागत करिब ३३ करोड रहेको छ। पुलको लम्बाइ ५ सय ६० मिटर र चौडाइ ११ मिटर छ।

प्रतिक्रिया दिनुहोस्