ग्यास उद्योगमा भीषण आगलागी



कृष्णउदास खनाल, वीरगन्ज

वीरगन्ज महानगरपालिकाभित्र रहेको सुपर ग्यास उद्योगको प्लान्टमा भएको भीषण आगलागी आठ घण्टापछि नियन्त्रणमा आएको छ।

वीरगन्ज–१८ भवानीपुरमा रहेको उद्योगमा बुधबार बिहान ६ बजेदेखि ग्यास भण्डारण टइंकीबाट ग्यास लिक भई आगलागी शुरू भएको थियो। आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाबाट परिचालित दमकल पनि जलेर ध्वस्त भएको छ। घटनामा परी महानगरपालिकाका आग्नि नियन्त्रक मधुसूदन मिश्र र यादवप्रसाद अधिकारीको मृत्यु भएको हो।

दमकलसहित आगो निभाउन सुपर ग्यासको मूल ढोकामा पुगेर पानी निकाल्ने क्रममा अचानक ग्यासको एउटा प्लान्ट नै विस्फोट भएपछि उनीहरूको घटनास्थलमा नै जलेर ज्यान गएको वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले जानकारी दिनुभयो। घटनामा परी गम्भीर घाइते कामदार अमिका पटेल र सुरक्षा गार्ड सन्दीप नेपाललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।


विश्वकर्मा सिमेन्ट उद्योगनजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यास बुलेट जलेर नष्ट भएका छन्। ग्यास बुलेटबाट प्लान्टमा सार्ने क्रममा लिक भई आगलागी भएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीले बताउनुभयो। उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर मात्रै टाढा रहेकाले भीषण आगलागीपछि स्थानीय त्रसित बनेका थिए।

स्थानीय बस्ती नै छाडेर सुरक्षित स्थानमा पुगेका थिए। प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको थियो। ग्यास बुलेट पड्किएको आवाज परसम्म सुनिएको थियो। प्लान्ट जलेर निस्किएको धूवाँले आसपासको क्षेत्र ढाकेको थियो। दिउँसो २ बजे आगो नियन्त्रणमा आए पनि त्रासका कारण स्थानीयहरू भने घरमा फर्किन सक्ने अवस्थामा नरहेको बताइएको छ । फेरि पनि कुनै बेला आगलागी हुन सक्ने त्रास स्थानीयहरूमा रहेको छ। आगो नियन्त्रणका लागि खास प्रविधि नभएका कारण समयमा आगो नियन्त्रणमा लिन कठिनाइ परेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रताप सिंहले बताउनुभयो।

७ वर्षअघि स्थापना भएको उद्योग अवुलेश अन्सारीको हो। अवुलेश वीरगन्ज हेल्थ केयर हस्पिटलका सञ्चालक पनि हुनुहुन्छ। आगलागीबाट आफ्नो सर्वश्व गुमेको अन्सारीले बताउनुभयो। उहाँले आफ्नो अर्बौं क्षति भएको र करोडौंको नोक्सानी भएको भन्दै क्षतिको विवरण संकलन कार्य जारी रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्