कांग्रेसले निर्वाचन परिणामबारे सातै प्रदेशमा समिक्षा भेला गर्ने



काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको छ । पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाको आज बानेश्वरमा बसेको बैठकले पार्टीको पक्षमा सोचेजस्तो मत परिणाम नआएको भन्दै यसका बारेमा पार्टी्भित्र गम्भीर छलफल गर्नुपर्ने बताएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पार्टी पराजयबारे वडा समितिबाटै बहस चलाउनु आवश्यक रहेको बताए । “पार्टीको पराजयबारे वडा इकाई समितिदेखि केन्द्रीय तहका नेतासम्मले आत्मालोचना गर्नुपर्छ,” उनले भने । बैठकले काँग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निर्वाचन सम्पन्न गराएको भन्दै सरकारलाई धन्यवाद व्यक्त गरेको छ । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पार्टीलाई बलियो बनाउन संगठनलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक रहेको बताए । पार्टी बलियो बन्न गाउँदेखि केन्द्रसम्म संगठन बलियो हुनुपर्ने उनको भनाइ छ । बैठकले सरकारले राष्ट्रपतिसमक्ष बुझाएको अध्यादेश यथाशीघ्र प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रहसमेत गरेको छ । बैठकमा नेपाली काँग्रेसका विभिन्न भ्रातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्