सम्भावित मुख्य मन्त्रीको समृद्धि योजना



चिरञ्जीवी मास्के, दोलखा
नेकपा एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईं दोलखाको क्षेत्र नम्बर २ बाट प्रदेशसभामा निर्वाचित भएका छन्। नेकपा एमाले दोलखाको जिल्ला कमिटी सदस्य, सचिव, अञ्चल कमिटी सदस्य, अञ्चल इन्चार्ज, केन्द्रीय सदस्य हुँदै अहिले पोलिटब्युरो सदस्य रहेका चौलागार्इं पार्टीको सहकारी विभाग प्रमुखसमेत रहेका छन्।

३ नम्बर प्रदेशको मुख्यमन्त्रीका रूपमा हेरिएका चौलागाईंले जनताको चाहना विकास र समृद्धि भएकाले त्यसैअनुरूप प्रदेश सरकारले योजना निर्माण गर्नुपर्ने बताउँछन्। निर्वाचनमा विजयी भएपछि अहिले मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगिरहेका एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं जनताको पहिलो माग सडक निर्माण रहेको बताउछन्। त्यसपछि रोजगारी, सञ्चारको विकास र निर्वाचित जनप्रतिनिधि बेलाबेलामा गाउँ आउनुपर्ने मतदाताको माग रहेको चौलागाईंले सुनाए। दोलखा तथा ३ नम्बर प्रदेशको विकास र समृद्धिको लागि चौलागाईंले अघि सारेको योजना, त्यसको कार्यान्वयनका लागि आवश्यक तयारी र चुनौतीहरू तीन नम्बर प्रदेशमा समृद्धिको योजना
३ नम्बर प्रदेशका सम्भावित मुख्यमन्त्री एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं जलश्रोत, पर्यटन, धार्मिक तथा जातीय पहिचान, कृषि उत्पादन, पशुपालन व्यवसाय, शिक्षा, स्वास्थ्य सबै हिसाबले ३ नम्बर प्रदेश अब्बल रहेकाले केन्द्र सरकार र स्थानीय तहसँग समन्वय गर्दै विकास र समृद्धिको योजना अगाडि सार्न सकिए देशको सबैभन्दा धनी प्रदेश बन्न सक्ने बताउछन्।

चीनसँगको २ वटा खुला नाका रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी ३ नम्बर प्रदेशमै छ। दोलखाको लामाबगर नाका खुला गरी उत्तर दक्षिण सडक खोल्न सके नेपाल भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग बन्न सक्छ। बौद्ध धर्मको हिसाबले दोलखाको विगु र लप्ची गुम्बा, काठमाडौको बौद्ध, महाबौद्ध, अन्य विभिन्न ठाँउमा रहेका गुम्बाहरू तथा शेर्पा, तमाङ, नेवारजस्ता बुद्ध धर्म मान्ने समुदाय पनि ३ नम्बर प्रदेशमै रहेका छन्। हिन्दू धर्मको हिसाबले काठमाडौँको पशुपति नाथ, दोलखाको भीमेश्वर र कालिञ्चोक, रसुवाको गोसाईकुण्ड, सिन्धुपाल्चोकको गौरातेश्वर महादेवलगायतका प्रसिद्ध मठमन्दिर ३ नम्बर प्रदेशमै छन्। ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना, ५ सय मेगावाटको ठोसे खिम्ति आयोजना, तामाकोसी ३ र ५ आयोजनालगायतका ठूलाठूला जलविद्युत् आयोजना, रामेछाप ठोसेको फलाम खानी, दोलखा खरीढुङ्गाको ओरियन्ट म्याग्नेसाइट, धादिङको सिसा खानीजस्ता खानीहरू पनि यही प्रदेशमा रहेका छन्। उल्लेखित कुरालाई प्राथामिकतामा राखेर विकासको योजना अगाडि सार्न सकिएको खण्डमा ३ नम्बर प्रदेश चाँडै समृद्ध बन्न सक्ने चौलागाईंको भनाइ छ।

दोलखाको विकासका लागि
दोलखाली जनताको पहिलो माग सडक निर्माण रहेकाले सबै राजनीतिक दल र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले यसलाई मुख्य लक्ष्य बनाउनुपर्ने चौलागाईंको भनाइ छ।

दोलखामा मुडे मेलुङ, चरङ्गे पवटी मेलुङ, सितली मेलुङ, भीरकोट हावा छौडे, नाम्दु मार्वु क्षेत्रपा जुँगु, चरिकोट कालिञ्चोक, सुनखानी सिंगटी साङ्वाजस्ता सडकहरूलाई प्राथामिकतामा राख्नुपर्ने, ग्रामीण सडकको स्तरोन्नति गरिनुपर्ने, लामोसाँगु जिरी, पुष्पलाल मार्गजस्ता सडकलाई स्तरोन्नति गरिनुपर्ने, जलविद्युत् आयोजनाहरूलाई प्राथामिकताका साथ अघि बढाउनुपर्ने, पर्यटन विकासका लागि धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, प्राकृतिक पर्यटन, साहसिक पर्यटन, कृषि र जैविक पर्यटन प्रवद्र्धनका लागि योजना निर्माण गर्ने।

विगु गुम्बालाई बौद्ध धर्मको अध्यन केन्द्र बनाउने, लप्ची गुम्बा, च्छो रोल्पा हिमताल, भीमेश्वर मन्दिर, कालिञ्चोक मन्दिर, देउलाङ्गेश्वर महादेव, गाईखुरा महादेव, महाङ्काल भगवती, देउढुङ्गा, जटापोखरी, पाँचपोखरीलगायतका पर्यटकीय स्थलहरूको विकासका लागि सडक, बिजुली, सञ्चारजस्ता पूर्वाधार पुर्याउने। फिल्मसिटी र साइन्सपार्क निर्माण, बुद्ध, महादेवको मूर्ति निर्माण, जिरी टेक्निकल स्कूल, कृषि फर्म बोच, काभ्रे कृषि फर्म, जिरी कृषि फर्मजस्ता कुरालाई प्राथामिकताका साथ शुरू गर्ने एमाले पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सदस्य चौलागाईंको योजना रहेको छ।

योजना कार्यान्वयनका लागि
दोलखा र सिंगो ३ नम्बर प्रदेशको विकासका लागि मुख्य त स्वदेशी तथा विदेशी लगानीकर्ता भित्त्याउनुपर्ने चौलागाईंको भनाइ छ। ठूलाठूला जलविद्युत् आयोजना सञ्चालन, फलाम, सिसा, खरी खानीको सञ्चालन, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास आदिका लागि सम्भव भएसम्म स्वदेशी पुँजी आकर्षित गर्ने र त्यसले मात्र सम्भावना नरहे विदेशी पुँजीसमेत भित्त्याउनुपर्ने र त्यसका लागि आवश्यक भौतिक पूर्वाधार विकास, सुरक्षाको प्रत्याभूति, स्थानीयको सहयोगजस्ता कुरालाई ध्यान दिनुपर्ने चौलागाईंको भनाइ छ।

चुनौतीहरू
विकास र समृद्धिका लागि जति अवसरहरू छन् त्यति नै चुनौतीहरू पनि रहेका छन्। दोलखा तथा सिंगो ३ नम्बर प्रदेशमै छरिएर रहेको वस्तिहरूलाई भूकम्प पछि पनि एकीकृत रूपमा विकास गर्न नसकिएको, अझै पनि आम रूपमा मानसिक परिर्वतन भइ नसकेको, शैक्षिक प्रणालीमा सुधार गर्न नसकिएको, उत्पादनमा भन्दा जागिरमा रमाउने प्रवृद्धि अझै कायम रहेको, कर्मचारीतन्त्रमा अझै पनि आवश्यकताअनुसार सुधार हुन नसकेको जस्ता कुराले विकास र समृद्धिको मार्गमा केही समस्या ल्याउन सक्ने चौलागार्इं बताउँछन्। यसका लागि राजनीतिबाट माथि उठेर सबै वाद र विचारमा आवद्ध जनता विकास र समृद्धिको मार्गमा अघि बढ्नुपर्ने उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्