संस्कृत पढ्ने विद्यार्थीको संख्या न्युन !



विनोद सिंह विष्ट, बैतडी । बैतडीका दुई विद्यालयमा संस्कृत शिक्षा हुदै आएको भएपनि पछिल्लो समयमा संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको छ । शंकर संस्कृत मावि मूलखटाली र सस्वती मावि नगतडी गरी बैतडीका दुईओटा विद्यालयमा मात्रै माध्यमिक तह सम्मको संस्कृत शिक्षा पढाई हुने गरेको छ । तर पछिल्लो समयमा संस्कृत शिक्षा पढ्ने विद्यार्थीहरुको संख्या न्यून रहेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । विद्यालय निरीक्षक शंकरदत्त जोशीका अनुसार शंकर संस्कृत मावि मूलखटालीमा अहिले संस्कृत पढ्ने विद्यार्थीको संख्या शुन्य रहेको छ भने सरस्वती मावि नगतडीमा भने १३ जना विद्यार्थी मात्रै संस्कृत शिक्षा अध्ययन गरिरहेका छन् । उहाँले भन्नुभयो “संस्कृत शिक्षाप्रति विद्यार्थीको आकर्षण नहुँदा विद्यार्थीको संख्या न्युन भएको हो ” केही बर्ष अगाडी सम्म बेला दुवै विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थी संस्कृत पढ्ने गरेका भएपनि हाल संस्कृत पढ्ने विद्यार्थीको संख्या घट्न थालेपछि दुवै विद्यालयमा साधारण तर्फको पढाई भईरहेको छ ।
भाषाको जननीको रुपमा रहेको संस्कृत शिक्षाप्रति आकर्षण घट्दै गएको शंकर संस्कृत माविका शिक्षक परमानन्द अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो“संस्कृत शिक्षामा नैतिक शिक्षाका बिषयवस्तु समेत समावेश हुँदा संस्कृत पढ्ने विद्यार्थी अनुशासन र नियममा बस्ने गरेका थिए ”
माओवादी द्वन्दकालमा संस्कृतका किताब जलाउने ,पोल्ने लगायतका क्रियाकलापपछि संस्कृत पढ्ने विद्यार्थीको आकर्षण घट्दै गएको छ । संस्कृत शिक्षाले नेपाली भाषाको लेखन र पठनमा शुद्धता हुने भएपनि संस्कृतको पढाई नै नहुन थालेपछि नेपाली भाषाको सिकाईमा समेत समस्या हुने गरेको शिक्षकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्