चीनमा नेपालसम्बन्धी अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता



ध्रुव पौडेल, छन्तु (चीन)
पर्यटन प्रवद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तराष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनको छन्तुमा शुरू भएको छ। प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो चिनियाँ फोटोग्राफी टोलीलाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको रुद्रक्षको माला लगाएर विदाई गर्नुभयो। काठमाडौँ महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्तु सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिवसीय नेपालसम्बन्धी फोटो प्रदर्शनी पनि शुरू गरिएको छ।
दैनिक एक लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने वाइड न्यारो एलेमा कम्तिमा ६ लाख चिनियाँ तथा विदेशी पर्यटकले उक्त प्रदर्शनी अवलोकन गर्न अपेक्षा गरिएको छ।

प्रतियोगिता र प्रदर्शनीको उद्घाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वस व्यक्त गर्नभयो। चीन नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत भएको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा छन्तु सहर, सिछुवान प्रान्त र चीन सरकारले गर्दै आइरहेको सहकार्यका लागि आभार ब्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका मिडिया विज्ञ शरद प्रधानले नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफी पर्यटनको अवधारण विकसित भएको उल्लेख गर्दै प्रतियोगितामार्फत अझ धेरै चिनियाँलाई नेपालमा स्वागत सकिने विश्वास ब्यक्त गर्नुभयो। अन्य गन्तब्यको तुलनामा नेपालमा जाने चिनियाँ पर्यटकको संख्या थोरै भएकोले फोटोग्राफी प्रतियोगिता र प्रदर्शनी गरिएको बताउनुभयो।

कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो। नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा बेइजिंगस्थित नेपाली राजदूताबास, सिछुवान प्रान्तीय र छन्तु नगर सरकार, पर्यटनसँग सम्बन्धित स्थानीय संघसंस्था, चीनका फोटोग्राफी क्लबलगायतको सहकार्यमा उक्त कार्यक्रम साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो। प्रतियोगिताको अवधिभर सन् २०१८ मा कम्तिमा २० हजार चिनियाँ फोटोग्राफरलाई नेपाल भ्रमण गराउने र उनीहरूमार्फत सन् २०१९मा पाँच लाख चिनियाँ पर्यटकलाई नेपाल लैजान सकिने सोसाइटीको प्रक्षेपण गरेको छ।

उद्धाटन कार्यक्रममा सिछुवान प्रान्त र छन्तु नगरपालिकाका उच्च पदस्था सरकारी अधिकारी, स्थानीय पर्यटन ब्यवसायी, फोटाग्राफर क्लबका अधिकारी, पत्रकार, छन्तुमा अध्ययनरत नेपाली विद्यार्थीलगायत १ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्